Sunday, January 11, 2009

एस.एल. सी.को इतिहास

नेपालका प्रथम राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा बेलायतलगायत आसपासका मुलुकहरूको ऐतिहासिक भ्रमण सम्पन्न गरी संवत् १९०७ मा स्वदेश फर्केपछि आफ्ना सन्ततीहरूलाई अङ्ग्रेजी भाषामा शिक्षा दिन र सामर्थवान् बनाउन वि.सं. १९१० असोज २४ गते आफ्नै निवास थापाथली दरबारस्थित दाखचोकको भुईंतल्लामा अङ्ग्रेजी प्रारम्भिक स्कुलको स्थापना गरेका थिए । बेलायतबाट नेपाल फर्केपछि जंगबहादुरको विचारधारामा केही परिवर्तन भएको देखिन्थ्यो । बेलायती नागरिकहरूका चेतना र चिन्तन, विज्ञान र विकास एवम् स्तर र शिक्षाप्रतिको गहिरो छाप श्री ३ जंगबहादुर राणामा पनि परेको थियो । यसै सन्दर्भमा नेपालको पहिलो र ऐतिहासिक गौरव बोकेको शिक्षण संस्था दरबार हाइस्कुलले डेढ सय वर्ष पूरा गरिसकेको छ । राणाकालमा दरबारभित्रबाटै प्रारम्भ दरबार स्कुल संवत् १९३४ सालमा दरबार हाइस्कुलमा परिणत भयो भने १९४२ देखि सर्वसाधारण नेपालीहरूका लागि पनि अध्ययन प्रवेश खुला गरियो । ऐतिहासिक दरबार हाइस्कुलले वि.सं. १९३६ देखि कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो भने १९९० कार्तिक १६ गते नेपालमा पहिलोपटक एस.एल.सी. परीक्षा बोर्डको गठन भयो । त्यसपूर्व परीक्षा दिन छात्रछात्राहरू कलकत्ता र पटना विश्वविद्यालयमा जानु पर्दथ्यो नेपालमै परीक्षा बोर्ड गठन भई परीक्षा दिन पाउने प्रबन्ध भए पनि परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गर्दथ्यो । उक्त परीक्षाको सञ्चालनसमेत पटना विश्वविद्यालयबाट खटिआएका सुपरिटेण्डेण्टहरूले गर्थे भने प्रश्नपत्रहरूसमेत लिएर काठमाडौं आउँथे । सुपरिटेण्डेण्टलाई नेपाल सरकारको पाहुना मानेर परीक्षा कायम रहुञ्जेल त्रिपुरेश्वरमा राखिन्थ्यो । परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका पोको पारेर उनीहरू पटना जान्थे । यसरी पटना विश्वविद्यालयको मातहतमा सञ्चालन हुँदै आएको एस.एस.सी. परीक्षाको अन्त्य २००३ सालमा नेपाल सरकारद्वारा सञ्चालन गर्ने व्यवस्था भएपछि भयो । तसर्थ, नेपालमा एस.एल.सी. परीक्षा गठन भएपछि पहिलोपटक १९९० साल पुस अन्तिम सातादेखि परीक्षा भएको थियो । तत्काल परीक्षा केन्द्र दरबार हाइस्कुलदेखि दक्षिणपट्टीको भवनमा थियो । परीक्षा आधाआधी हुँदा संवत् १९९० साल माघ २ गतेका दिन विनाशकारी महा भूकम्प गयो, जसका कारण केही दिन परीक्षा स्थगित गर्नुपर्‍यो । भूकम्पका कारण दुई वर्ष दरबार हाइस्कुलको पढाइ त्रि-चन्द्र कलेजमा चल्यो । पहिलोपटक कुल ३४ परीक्षार्थी सहभागी रहेको उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन् । यीमध्ये १० जना द्वितीय श्रेणी र नौजना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एकजना अनुपस्थित भएको देखिन्छ । द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अङ्क भक्तपुरका पुष्पभक्त मल्लले प्राप्त गरेका थिए । परीक्षार्थीमध्ये एकजना छात्रा सविनाकुमारी देवीले परीक्षा फर्म भरे पनि उनी परीक्षामा अनुपस्थित रहिन् । कुल आठसय पूर्णाङ्क रहेको उक्त परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३६ नम्बर ल्याउनुपरथ्यो । अधिराज्यमै सर्वप्रथम संस्थापित हुनु दरबार हाइस्कुलको विशेषता मात्र होइन परन्तु देशको शैक्षिक, बौद्धिक र प्राज्ञिक इतिहासमा समेत अग्रणी स्थान छ । देशकै शैक्षिकस्तर र उपलब्धिको प्रसङ्ग उठाउने हो भने दरबार हाइस्कुलले आफ्नो समयको योगदान सङ्ख्यात्मक र गुणात्मक क्षमतामा श्रेयपूर्ण स्थान ओगटेको छ । नेपालमा एस.एल.सी. परीक्षा प्रारम्भ भएको समयताको देशमा दरबार हाइस्कुलहरू पाटन हाइस्कुल स्थापना भइसकेका भए पनि १९९० देखि २००४ सालसम्म बोर्डफस्ट हुने सौभाग्य दरबार हाइस्कुलका छात्रले कायम राखेका थिए भने २०३१ देखि २०३९ सम्म तेस्रोदेखि दशौं स्थानसम्म बोर्डमा ६ पटक प्रतिनिधित्व गरेका थिए । बोर्डमा सर्वप्रथम हुने विद्यार्थीहरूको नाम घोषणा गर्ने परम्परा १९९० सालदेखि चल्दै आएको हो ।

१९९० पुष्पभक्त मल्ल
१९९१ गोपालप्रसाद रिमाल
१९९२ यदुनाथ खनाल
१९९३ श्यामकृष्ण गौतम
१९९४ चन्ददेव ओझा
१९९५ तीर्थप्रसाद प्रधान
१९९६ भरतबहादुर प्रधान
१९९७ भूवनलाल प्रधान
१९९८ रेणुलालसिंह सुवाल
१९९९ तीर्थबहादुर प्रधान
२००० ज्ञानमणि आचार्य दीक्षित
२००१ विष्णुप्रसाद धिताल
२००२ रन्जनराज शर्मा खनाल
२००३ उपेन्द्रमान मल्ल
२००४ भवानीशंकर राजवंशी
२००५ दामोदर फुयाँल
२००६ शैयदमोहन शाह
२००७ नन्दकृष्ण अग्रवाल
२००८ महावीरप्रसाद अग्रवाल
२००९ बाबुलाल अग्रवाल
२०१० पुरुषोत्तमनारायण श्रेष्ठ
२०११ पद्मलाल श्रेष्ठ
२०१२ रामबाबु शर्मा
२०१३ आनन्दमानसिंह अमात्य
२०१४ दिव्यरत्न शाक्य
२०१५ प्रकाशचन्द्र लोहनी
२०१६ शिवप्रसाद अधिकारी
२०१७ रमेश शर्मा भट्ट
२०१८ प्रचण्डजंग शाह
२०१९ रमेशनन्द वैद्य
२०२० दीपक बज्राचार्य
२०२१ भेषराज कडेल
२०२२ नरेन्द्रनाथ शर्मा
२०२३ प्रकाश मानन्धर
२०२४ डम्बरबहादुर नेपाली
२०२५ भक्तबहादुर आले
२०२६ बाबुराम भट्टराई
२०२७ अंगितातहरिङ शेर्पा
२०२८ द्रोणप्रसाद रसाइली
२०२९ राजेन्द्रकुमार काब्रा
२०३० प्रमोदराज पोखरेल
२०३१ किशोर थापा
२०३२ रामचन्द्र शर्मा
२०३३ अनिलबहादुर मानन्धर
२०३४ सत्यमोहन राजभण्डारी
२०३५ उत्तमकृष्ण श्रेष्ठ
२०३४ विजयकृष्ण श्रेष्ठ
२०३४ शतिश वजाज
२०३६ द्वारिकाराज श्रेष्ठ
२०३७ अच्युतबाबु तिवारी
२०३८ लुना भट्ट
२०३९ नीशा द्यौमडेल
२०४० शम्भुशरण शाह
२०४१ रञ्जनराज प्रधान
२०४२ दीपकुमार सिंह
२०४३ प्रमोद आचार्य
२०४४ राजेन्द्र गुरुङ
२०४५ राजन शर्मा
२०४६ नृपेश प्रधान
२०४७ मानव भट्टराई
२०४८ प्रवीणदेव पाठक
२०४९ प्रकाश थपलिया
२०५० गरिमा राणा
२०५० पंकज अधिकारी
२०५२ आयाम लामिछाने
२०५३ विश्ववन्धु वगाले
२०५४ मदनकुमार बडाल
२०५५ वीरेन्द्र घिमिरे
२०५६ सुम्निमा सिंह
२०५७ सुयोग भण्डारी
२०५८ स्वच्छन्द सुङ्मेन
२०५९ विशाल ज्ञवाली
२०६० विशाल खनाल
२०६१ समीर श्रेष्ठ
२०६२ घोषणा गरिएन ।

No comments:

Blog Archive

Followers