Wednesday, January 14, 2009

सम्झना

नेपालका साहित्यिकहरू रामेश्वर शर्मा चालिसेलाई चिन्दैनन्, तर उनैको फूल-नाउँ भन्यो भने चाहिँ नचिन्ने कोही हुँदैनन्। त्यस्ता व्यक्ति हुन् रमेश विकल! ५० वर्षदेखि नेपाली साहित्य-गगनमा गद्याख्यान क्षेत्रपट्टि छाएका थिए रमेश विकल। तर दैवको लीला! अस्ति २ पुसमा अकस्मातसँग अल्पिए उनी। धेरैले पैले त यो कुरा पत्याउन पनि सकेनन्। किनभने, स्वास्थ्यकै हिसाबले पनि, अनि साहित्यिक नाताले पनि, उनको जाने बेला भएकै थिएन। ८० पुग्न लागेको उमेरका कारण हुने सामान्य समस्या बाहेक उनलाई त्यस्तो ठूलो बिमारी पनि थिएन। यता, लेखनका क्रममा रहेका निकै कृति अपूरै थिए। उनको आत्मकथाको दोस्रो खण्ड लेखिँदै थियो। ती सबै कुरा असरल्ल छाडेर उनी त्यसै गए। नेपाली साहित्यले कत्रो निधि गुमायो!
तर कीर्तिर्यस्य स जीवति भन्छ शास्त्रले। अपार नाम छाडेर गएका छन् रमेश विकलले पनि। उनको नयाँ सडकको गीत भन्ने कथासङ्ग्रहले २०१८ सालको गद्य साहित्यतर्फको मदन पुरस्कार जितेपछि रमेश विकलको ख्याति उक्लिन थालेको हो, तापनि उनी त्यसअघि नै चर्चित भइसकेका थिए। २०१६ मै नेपाल-भारत मैत्री संघले उनको बिरानो देशमा भन्ने कथासङ्ग्रह प्रकाशित गरिसकेको थियो। मदन पुरस्कार भने उनको किताबले अमुद्रित अवस्थामै कमाएको हो, तिनताका अमुद्रित कृति पनि पुरस्कारका लागि पेश गर्न पाइन्थ्यो। पुरस्कृत भएपछि २०१९ सालमा जगदम्बा प्रकाशनले नयाँ सडकको गीतलाई आफ्नो ग्रन्थमालाको उनन्तीसौँ ग्रन्थ बनाएर प्रकाशित गर्‍यो। त्यसपछि विकलका किताबहरू अविरल आइनै रहे, जसमा एउटा बूढो भ्वाइलिन, आज फेरि अर्को तन्ना, सुनौली, उर्मिला भाउजू, अविरल बग्दछ इन्द्रावतीजस्ता चर्चित कृति पनि छन्।
यत्ति नै कृति निक्ले उनका कलमबाट भन्न सक्ने स्थितिमा म छैन। तर मदन पुरस्कार पुस्तकालयमा भने उनका २८ वटा कृति आइपुगेका फेला पर्छन्। यिनमा कथासङ्ग्रह, उपन्यास, नियात्रा छन् अनि आत्मकथा छ, मेरो अविरल जीवनगीत भन्ने। त्यसबाहेक कथा, उपन्यास र गीतका १० वटा जति बालसाहित्यिक कृति पनि दिएर गएका छन् रमेश विकलले। यी त भए स्रष्टा विकलका सृष्टिहरू। द्रष्टा विकल पनि दृष्टिगोचर हुन्छन् खोज्दै जाँदा। कममा पनि २५ वटा जति अरूका कृतिमा उनले भूमिका लेखेका छन्।
रमेश विकललाई मेरा मित्र थिए भन्ने दावा गर्न म सक्तिनँ, हामी त्यति नजिकै कैले भएनौँ। तर हाम्रो सम्बन्ध आत्मिक थियो, परस्पर श्रद्धा र मैत्रीभावको। कारण, रमेश विकल विशाल हृदयका व्यक्ति थिए। आर्थिक हिसाबले आरूबारीका चालिसेहरू विपन्न थिएनन्। तर मध्यवित्त ब्राह्मण परिवारमा जन्मेर पनि, पिताको मृत्युपश्चात् परिवारको बोझ् परेर रमेश जागिर खान बाध्य भए। तैपनि उनले पैसालाई द्यौता कैले मानेनन्। त्यसको प्रत्यक्ष प्रमाण हो― आफू जीवित छँदै आफू बस्ने तीनतले घर र जग्गा रमेश विकल साहित्य प्रतिष्ठानको जिम्मा लगाइदिनु; र आफूले पाउने पुस्तकहरूको आम्दानी पनि सबै त्यही प्रतिष्ठानले पाउने गराइदिनु। त्यस प्रतिष्ठानको अध्यक्ष समेत उनले आफू नबसेर आफ्ना मित्र रोचक घिमिरेलाई बनाएका थिए, २०६३ सालमै!
कस्ता थिए त नेपाली साहित्य-साधक रमेश विकल? २०१८ सालमै यिनको साहित्यिक प्रतिभा चिन्ने रणधीर सुब्बाले त्यसबेला लेखेको एक दुई वाक्य उद्धृत गरेर यो लेखोट टुङ्ग्याऊँ। सुब्बाले लेखेका छन्, “रमेश विकलको शैलीमा चित्ताकर्षण गर्ने गुण छ, उसको स्केच (आरुप) स्पष्ट छ। विकलको लेखनीमा सङ्केत गर्ने शक्ति पनि छ। इत्यादि।” अब त भनिदिए हुन्छ होला― २०१८ सालको मदन पुरस्कारका लागि पेश भएका कथाका किताबहरू ग्रन्थ-परीक्षाका लागि रणधीर सुब्बाकहाँ पुगेका थिए। सुब्बाले अरूका तुलनामा नयाँ सडकको गीतलाई मन पराए, सह्राएर पठाए। उनको लामै प्रतिवेदनको सानो अंश हो त्यो। सुब्बाको छनोट गुठीको समितिलाई उपयुक्त लाग्यो र त्यस वर्षको गद्य साहित्यतर्फको पुरस्कार नयाँ सडकको गीतले जित्यो। त्यसरी भएका थिए रमेश विकल पुरस्कृत त्यस वर्ष।

Source:http://www.himalkhabar.com

No comments:

Blog Archive

Followers