Tuesday, January 6, 2009

वेबसाइटमा अर्थमन्त्री

काठमाडौं, पुस १७ - माओवादी नेता बाबुराम भट्टराईका पितापुर्खा राजाका पुजारी थिए । पाल्पाका सेन राजाका परम्प्ारागत पुजारी र ज्योतिषी भट्टराई परिवार १५ औं शताब्दीतिर गोरखाको लिगलिग बसाइँ सरेको थियो, जहाँ यो परिवारले द्रव्य शाहलाई गोरखाका राजा बनाउन ठूलो भूमिका खेल्यो ।
करिब तीन दशकअघि भारतमा 'टाउन एन्ड कन्ट्री प्लानिङ' पढ्न गएका भट्टराईको हिसिला यमीसँग प्रेम पर्‍यो । त्यसयता प्रेम र जीवन मात्रै होइन, राजनीतिमा पनि उनीहरू सँगसँगै रहे । सन् १९८० मा नयाँ दिल्लीमा राजा वीरेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा भारतीय प्रहरीले भट्टराईलाई पहिलोपटक पक्राउ गर्‍यो ।

यी रोचक तथ्यसहित माओवादी नेता भट्टराईले बिहीबार निजी वेबसाइट सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा करिब पाँच हजार साथी बनाएका उनी फेसबुक फ्यान क्लब हुँदै निजी वेबसाइटसम्म आइपुगेका हुन् । साइटमा उनका हरेक दिनका कार्यक्रम, उनीसम्बन्धी पछिल्ल्ाा समाचार, भाषण, विचारमूलक आलेख, फोटो ग्यालरी, ब्लगदेखि पाठकका प्रतिक्रियासम्म छन् ।

निजी सचिव विश्वदीप पाण्डेको सहयोगमा चन्द्र खाकी र धर्म भुसालले निर्माण गरेको वेेबसाइटलाई भट्टराईले 'प्रविधिमार्फत जनतासँग प्रत्यक्ष्ा अन्तरक्रिया' भनेका छन् र जनताका सुझाव र रचनात्मक आलोचना अपेक्षा गरेका छन् । बुधबार राति १२ बजे सार्वजनिक वेेबसाइटले एक दिन नबित्दै दर्जनौं प्रतिक्रिया पाएको छ ।

'नमस्ते बाबुरामजी,' विश्वदीप पाण्डेको लेख 'बाबुराम नयाँ पुष्पलाल ?' को मुन्तिर बिहीबार दिउँसो काठमाडौं तीनकुनेका गोविन्द नेपालले लेखेका छन्- 'अर्थमन्त्री हुनु भो तर राम्ररी काम गर्न सक्नुभएन । देशको

आर्थिक मन्दी कसरी कम गर्न सकिन्छ भन्दा पनि माओवादी सरकार कसरी टिकाउन सकिन्छ भन्नेतिर मात्रै ध्यानदिनुभो, यसरी नयाँ नेपाल बन्ला र ?'

धेरैजसो प्रतिक्रिया प्रशंसाकेन्दि्रत छन् । जापान, अस्टे्रलिया, बेल्जियम, अमेरिका, डेनमार्क, कतार, बेलायतदेखि भट्टराईकै गाउँका शुभचिन्तकसम्मले बिहीबार प्रतिक्रिया लेख्न भ्याए । 'उनी हिरो हुन्,' सन् १९७० को एसएलसी बोर्ड फस्ट भट्टराईप्रति काठमाडौंकी सुमिताले लेखेकी छन्, 'नेपोलियन बोनापार्ट जस्तै ।'

वेेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ब्लगमा चाहिँ भट्टराईकै यसअघि प्रकाशित एउटा लेख र 'नेपाल' साप्ताहिकमा छापिएको पाठकपत्र छ, जसमा कसैले प्रतिक्रिया लेख्न भ्याएको छैन । फेसबुक, ब्लग र वेेबसाइट जताजतै देखिएका भट्टराईलाई सामाखुसीका याम सापकोटाले भनेका छन्- 'भट्टराईजीको व्यक्तिगत इमेल पनि राखिदिनुभए सोझै सूचना र प्रतिक्रिया पाउन सकिन्थ्यो ।'

अंग्रेजी नयाँवर्ष अवसर पारी सुरु गरिएको वेेबसाइटमा भट्टराईले 'शुभकामना र संकल्प' पनि राखेका छन्, जसको मुनि बधाई, प्रशंसासँगै आलोचनाको पनि ओइरो छ । 'नयाँ नेपाल देख्न पाइयोस्,' बेल्जियमबाट शक्ति पिसीले लेखेका छन्- 'बाँदरे प्रवृत्ति देख्न नपरोस् ।'

'किताबको कीरा डा. भट्टराई' शीर्षकमा चन्द्र खाकीले लेखेको आलेखमा प्राप्त सबभन्दा पछिल्लो प्रतिक्रियाले भने भट्टराईलाई केहीबेर रिंग्याउनेछ ।

वेबसाइट चलाउनुभएछ !

विज्ञान प्रविधिको युगमा जनतासँग धेरैभन्दा धेरै सम्पर्कमा रहन । सुझाव, आलोचना लिन र त्यस आधारमा सरकारबाट जनताको काममा सहयोग पुर्‍याउन । फेसबुकबाट भन्दा धेरै समुदायसँग अन्तरक्रिया गर्न सहयोग आशा छु ।

फाइदा पनि हुन्छ नि ?

व्यक्तिगत फाइदा लिन चलाएको हैन । मन्त्री भइसकेपछि जनताबाट टाढिने संभावना हुन्छ, उनीहरूका कुरा सुन्न नभ्याइने हुन्छ । यस्तोमा वेबसाइटले सजिलो पार्छ ।

राजनीतिक फाइदा ?

पार्टीको लागि फाइदा हुन सक्छ । व्यक्तिगत हैन ।

कस्ता प्रतिक्रियाले ठाउँ पाउँछन् ?

प्रशंसाभन्दा रचनात्मक आलोचनालाई प्राथमिकता

दिनुपर्छ । त्यस्तै प्रतिक्रियाको अपेक्ष्। पनि गर्छु ।

स्रोतः कान्तिपुर दैनिक

१८ पुष २०६५
source:http://www.baburambhattarai.com

No comments:

Blog Archive

Followers