Sunday, January 11, 2009

जनआन्दोलन २ लाई माओवादी समर्थन

सात दल र माओवादीबीच भएको दोस्रो समझदारी सार्वजनिक भएपछि नेकपा (माओवादी) ले २०६२ चैत्र १ गतेदेखि जारी नाकाबन्दी एवम् अन्य संघर्षका कार्यक्रमहरु फिर्ता लियो । साथै उसले सात दलद्वारा घोषित चैत्र २४ देखि २७ गतेसम्मको देशव्यापी आमहडताल, असहयोग आन्दोलन र तथा काठमाडौं केन्द्रीत वृहद् जनप्रदर्शनहरूलाई पूर्ण रुपले सहयोग गर्ने बतायो । चैत्र ६ गते नेकपा (माओवादी) का अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर क. प्रचण्ड र संयुक्त क्रान्तिकारी जनपरिषद्का संयोजक क. बाबुराम भट्टराईले प्रेस वक्तव्य जारी गर्नुहुँदै 'निःशर्त संविधानसभाको निर्वाचनमार्फत् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्न' सवै लोकतान्त्रिक राजनीतिक शक्तिहरूलाई जोडदार आग्रह गर्नुभयो ।

वक्तव्यको पूर्ण पाठ-
१) देशमा लोकतन्त्र, शान्ति र अग्रगमनको निम्ति नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच गत मंसीर ७ गते सम्पन्न ऐतिहासिक १२-बुँदे समझदारीप्रति दृढ प्रतिवद्धता व्यक्त गर्दै त्यसलाई अझ ठोस र विकसित गर्दै लैजान तथा सामन्ती राजतन्त्र विरोधी संयुक्त आन्दोलनलाई तीव्रता दिन यही चैत्र ६ गते जारी दोश्रो समझदारीको विशिष्ठ राजनीतिक महत्व रहेको सर्वविदितै छ । यी दुवै समझदारीबाट अघि बढ्दै देशमा निरंकुश राजतन्त्रविरोधी साझा नारा, साझा मोर्चा र साझा कार्यक्रम तय गरेर देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी सिर्जना गर्न र निःशर्त संविधानसभाको निर्वाचन मार्फत् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्न हामी सबै लोकतान्त्रिक राजनीतिक शक्तिहरूलाई पुनः जोडदार आग्रह गर्दछौं ।
२) हाल देशमा चलिरहेको निरंकुश शाही सत्ता विरोधी आन्दोलनका सवै धारहरूलाई एकीकृत र केन्द्रीकृत गरेर शाही सत्तामाथि निर्णायक प्रहार गर्नु आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकतालाई मध्यनजर गर्दै नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच समझदारी र सहमति भएबमोजिम सात दलद्वारा घोषित यही चैत्र २४ देखि २७ गते सम्मको देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र तथा काठमाडौंकेन्द्रीत वृहद् जनप्रदर्शनहरूलाई हामी पूर्णरुपले सहयोग र समर्थन गर्ने घोषणा गर्दछौं । २०४६ सालको जनआन्दोलनमा राजतन्त्रविरोधी जनविद्रोहको उत्कर्षको दिन चैत्र २४ गते र बहुदलीय व्यवस्था घोषणा गरिएको चैत्र २६ गतेका ऐतिहासिक दिनहरूलाई संयोजन गरेर राखिएको यो संयुक्त जनआन्दोलनको कार्यक्रमको विशिष्ठ ऐतिहासिक महत्व रहेको स्वतः स्पष्ट छ । त्यसैले यी संघर्षका कार्यक्रमहरूमा सक्रिय रुपले सहभागी बनेर र हरतरहले साथ दिएर सहयोग गर्न हामी सम्पूर्ण देशभक्त तथा लोकतान्त्रिक राजनीतिक शक्तिहरू, जनवर्गीय संगठनहरू, जातीय तथा क्षेत्रीय मोर्चाहरू, पेशागत संगठनहरू, संचारकर्मीहरू, नागरिक समाज र आमजनसमुदायमा हार्दिक अपील गर्दछौं ।
३) उपरोक्त देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र जनप्रदर्शनको कार्यक्रमको तयारीलाई ध्यान दिंदै तथा सात राजनीतिक दलहरू, नागरिक समाज, विविध पेशागत संगठनहरू र आम जनसमुदायको आग्रहको समेत उच्च कदर गर्दै हाम्रो तर्फबाट चैत्र १ गते देखि जारी नाकावन्दी र चक्काजामको कार्यक्रम यही चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको तथा हाम्रो तर्फबाट घोषित अन्य सवै संघर्षका कार्यक्रमहरू पनि फिर्ता लिने निर्णय भएको सार्वजनिक जानकारी गराउँदछौं । भविष्यमा आवश्यकता अनुसार हाम्रो तर्फबाट थप संघर्षका कार्यक्रमहरू घोषणा हुन सक्ने जानकारी गराउँदै अहिलेसम्मको नाकाबन्दी र चक्काजाम कार्यक्रम पूर्ण रुपले सफल पारेर शाही सत्तामाथि चोटिलो प्रहार गर्न योगदान गर्नुहुने सबैलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौं ।
http://www.hamrosamachar.com

No comments:

Blog Archive

Followers