Sunday, January 11, 2009

राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा

राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा

(जनआन्दोलन २ को समाप्तीका लागि आएको)
प्यारा देशवासीहरू,
नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरूको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फत पुनस्थापित गरिबक्सेका छौं । बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेबारी वहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आह्वान गर्दछौं । पुनस्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद् भवन, सिंहदरबारमा बस्ने गरी आह्वान गरिबक्सेका छौं ।
नेपाल र नेपालीको बृहत्तर हित यो संसदबाट हुनेछ भन्ने हामीलाई विश्वास छ । जनआन्दोलनमा जीवन गुमाएकाप्रति समवेदना र घाइते एवं आहत भएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !
Source www.hamrosamachar.com

No comments:

Blog Archive

Followers