Wednesday, January 7, 2009

बिश्व हांक्ने हिरो बाराक ओबामा


वोधराज त्रिपाठी ।

जब प्रसिद्ध अँग्रेजी पत्रिका टाइमले एउटा कालो हँसिलो उमेरले अँधबैसे भएपनि, देख्दा त्यस्तो नलाग्ने मान्छेलाई आफ्नो कभरमा राख्यो तब धेरै मान्छे छक्क परे । टाइमले यो कालो जातको मान्छे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा आफ्नो दावी गर्दैछ र संसारलाई अमेरिका एउटा परिवर्तनको संकेत गर्दैछ भनेर लेखेको थियो । तर त्यतिबेला पनि त्यहि कालो मान्छेले इतिहास रच्ने कुरामा टाइम त के अमेरिकी जनता, विश्व समुदाय र स्वयं त्यहि मान्छेलाई पनि दुरदेशको सपना लागेको थियो होला ! तर संसारलाई परिवर्तनको सन्देश दिदैँ, राष्ट्रियता सबैभन्दा माथी छ भन्दै अमेरिकी जनताले ४७ बर्षिय अफ्रिकन-अमेरिकन बाराक ओबामालाई आफ्नो ४४औं राष्ट्रपति बनाउँदै देश जिम्मा लगाएका छन् । अमेरिकी इतिहासमा भएको सबैभन्दा रोमान्चक चुनावमा ओबामाको विजयले अमेरिकी इतिहासमा उनको नाम पहिलो कालो जातीको पहिलो राष्ट्रपतिको रूपमा दरिएको छ ।


ओबामालाई सिएनएनको एउटा समाचारमा झुक्किएर ओसामा पनि लेखिएको थियो । त्यसो त उनी आफैं आफ्नो नामलाई कसैले "अल्बामा" वा "ओबामा" भन्ने गरेको ठट्टा पनि गर्छन् । सन् १९६१ अगस्त ४ मा जन्मिएका ओबामा पहिलो प्रयासमै सफल भएका छन् । तर ह्वाइट हाउसम्मको उनको यात्रा सजिलो भने थिएन । पहिला राष्ट्रपतिको उम्मेदबारमा मनोनयन हुन नै उनले सिनेटर हिलारी रोधाम क्लिटनसँग कडा प्रतिस्पर्धा गर्नुपर्यो । सन् २००४ मा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ओबामाले आफ्नो भाषणले धेरैलाई प्रभावित पारे । यसको केहि महिनपछि भएको सिनेटरको चुनाव जिते र हेर्दा हेर्दै उनी संचार माध्यममा नायक, रकस्टार यस्तै यस्तै थुप्रै उपनामका साथ आए जुन सामन्यतया अन्य अमेरिकी सिनेटरका लागि प्रयोग गरिदैन । उनले लेखेका दुबै किताब पनि बेस्ट सेलरको सुचीमा आए ।


सन् १९९५मा लेखिएको "ड्रिम्स फ्रम माइ फादर" उनी राजनीतिमा आउनु अघि नै लेखिएको हो । यसमा उनले आफ्नो तीनतिर बसिरहेको परिवारको बारेमा, आफ्नो बुवाको अनुपश्थितीको बारेम लेखेका छन् । उनको अर्को पुस्तक "द अडसिटी अफ होप" एक किसीमको राजनीतिक दस्तावेज हो । उनको नितीको बारेमा यो पुस्तकमा लेखिएको छ ।


बाराकका बुवा केन्याली हुन् भने आमा अमेरिकी हुन् । उनी सानै छँदा उनको बुवा र आमाबीच सम्बन्ध विच्छेद भएको थियो । उनका बुवाले हावर्डमा पढ्ने अवसर पाए तर पैसा नभएका कारणले उनले परवारलाई लान सकेनन । पछि पढाइ सकेर उनका बुवाले केन्या सरकारका लागि काम गरे । ओबामा छ बर्षको हुँदा उनकी आमाले एक इन्डोनेशियन नागरिकसँग विवाह गरिन । त्यसपछि उनको पुरै परिवार जकार्तामा बसाइँ सरे । संयोगले बाराकका दुबै बुवा मुसलमान थिए तर ओबामा भने इसाइ हुन् । त्यहाँ उनी चार बर्षसम्म बसे र उनले धर्म निरपेक्ष विद्यालयमा अध्ययन गरे । दश बर्षको उमेरमा उनी आफ्नी हजुरआमासँग बस्न हवाई गए जहाँ उनले आफ्नो बाल्यकाल र किशोरावस्था विताए ।


कोलम्बिया विद्यालयबाट उनले राजनीति शास्त्रमा पढाइ गरे र फेरी शिकागो गए । सन् १९८८मा उनले हावर्ड ल स्कुलबाट कानुनमा स्नाकोत्तर गरे । उनी हावर्ड ल रिभ्यूको पहिलो अफ्रीकी-अमेरिकी अध्यक्ष पनि बने । पढाइ पुरा गरेपछि राम्रो जागिर गर्ने, प्रशस्त आम्दानी गर्ने अवसरलाई छाडेर उनले सामाजिक क्षेत्रमा हात हाले । उनले शिकागिमा सानो ठुलो धेरै काम गरे । कहिले उनले मतदाता पञ्जीकरण अभियान चलाए त कहिले संवैधानिक कानुनको बिषयमा भाषण दिए । उनले आमजनताको वकिलको रूपमा पनि काम गरे ।


ओबामाले एक कानुन व्यवसायी मिशेल ओबामासँग विवाह गरे । उनका मालिया र शासा नामका दुई छोरीहरू छन् । ओबामाले सन् १९९६ मा पहिलो पटक इलिनोइस राज्य सिनेटको निर्वाचन जिते । यहाँ उनले दलगत श्वार्थभन्दा माथी उठेर काम गर्ने राजनितीज्ञको छवी बनाएका छन् । उनले गरिबीको लागि करमा राहत, मृत्युदंड सम्बन्धी कानुनमा महत्वपुर्ण परिवर्तनको लागि काम गरेका छन् । यसैको फलस्वरूप सन् २००४मा उनलाई अमेरिकी सिनेटको लागि चुनियो । शुरूवातमा उनले राष्ट्रपतिको उम्मेदवारी दिने कुरामा अस्विकार गरिरहेको भए पनि सन् २००७मा उनले आफ्नो उम्मेदबारीको घोषणा गरे ।


ओबामाले आफ्नो चुनावी अभियान त्यहि भर्याङबाट गरे जहाँबाट युद्धकालको कुनै बेला तत्कालिन राष्ट्रपति अब्राहाम लिंकनले सदनलाई एकैचोटी उठ्ने र फेरी छरपस्ट हुने कुरा गरेका थिए । ओबामा शुरूदेखि नै इराक युद्धका विपक्षमा छन् । सन् २००३ मार्चमा इराकमा हमला हुनुअघि नै उनले युद्धको आशंकाको बारेमा कुरा गरेका थिए । उनले इरानसँग बिना सर्त वार्ता गर्न पनि बताएका छन् । अमेरिकी राजनीतिमा उनको ग्राफ द्रुत गतिले अगाडी बढेको छ र अहिले संसारको ध्यान उनीमा केन्द्रित छ ।

source:http://www.sknepal.org/

No comments:

Blog Archive

Followers