Saturday, January 17, 2009

जैविक आतंकवादबारे केही जानकारी -डा.सुशिल देवकोटा

वर्तमान समयमा विकसित भैरहेको विभिन्न आतंकवाद मध्ये जैवीक आतंकवाद पनि एक हो जसमा आतंककारीहरुले विभिन्न रोगका जिवाणुहरुको सहायताले दुश्मन देशमा हमला गर्दछन्। विकासोन्मुख देशहरुमा यसकावारेमा जानकारी निकै कम भएता पनि विकसित देशमा भने मानिसहरु यसबाट बच्ने विभिन्न उपायको खोजीमा लागिसकेका छन्। अमेरिकाको राष्ट्रिय वैकल्पिक तथा पूरक चिकित्सा केन्द्रले आफू यस सन्दर्भमा गम्भीर भएको बताएको छ। यो आलेख त्यही वैकल्पिक तथा पूरक चिकित्सा केन्द्रले प्रकाशमा ल्याएको धारणामा आधारित छ: हामी सचेत छौं, सर्वसाधारणको चिन्ता प्रति कि कतै हामी पनि जैवीक आतंकवादको शिकार त हुने छैनौं? अनि त्यसबाट बच्नको निम्ति वैकल्पिक तथा पूरक चिकित्साले मद्दत गर्न सक्छ कि भन्ने जिज्ञासा प्रति। मूलधारको चिकित्सा पद्धतीले जैवीक आतंकवादलाई नियन्त्रण गर्न सक्ने पर्याप्त संभावना बोकेको भएता पनि मानिसहरु वैकल्पिक तथा पूरक चिकित्सा पद्धतीको पनि भूमिका खोजिरहेका भेटिन्छन्। उनीहरु भन्छन्: उपचार त आफ्नो स्थानमा छ तर यसबाट बचाऊ गर्ने वा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गरी रोगै लाग्न नदिने खालको उपचार वैकल्पिक तथा पूरक चिकित्सा पद्धतीमा संभव छ कि?
तर यस किसिमका जैवीक आतंकवादबाट आउने रोगको महामारीमा मूलधारको चिकित्सा पद्धतीको सहायताले नै उपचार गर्नु प्रभावकारी देखिएको छ।
गएको शताव्दीमा चिकित्सकीय क्षेत्रमा भएको विकासको सहायताले मानिसको बांच्ने बर्षहरुमा वृद्धि गर्न सफलता पाइएता पनि बांच्ने क्रममा सामना गर्नुपर्ने विभिन्न रोगहरुको थुप्रो भने निकै ठूलो छ। यसैकारण पनि मानिसहरु वैकल्पिक तथा पूरक चिकित्सा तर्फ आकर्षित हुंदै गईरहेका छन् जसले उनीहरुको आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गरी रोगसंग लड्ने काम गर्दछ। यो भूमिका निश्चय पनि वैकल्पिक तथा पूरक चिकित्सा पद्धतीले निश्चित किसिमका रोगहरुमा प्रभावकारी रुपमै निभाउने गरेको छ र वैकल्पिक तथा पूरक चिकित्सा केन्द्रको प्रमुख जोड पनि यसैमा रहने गरेको छ तर यस प्रकारको जैवीक आतंकवाद स्वरुप फैलाइएको जिवाणुजन्य रोगहरुको उपचारमा भने खासै प्रभाव देखिदैन।
हाम्रो शरीरले रोगसंग प्रतिरोध गर्न सक्ने क्षमता भन्दा पनि द्रूत गतिमा एन्थ्राक्स, ठेउला लगायतका रोगहरुले आक्रमण गर्दछन्। अझ भन्नु पर्दा हाम्राे शरीरको रोग प्रतिरोधात्मक क्षमताले लड्ने तयारी गरिरहंदा नै यी रोगहरुले हाम्रो ज्यान लगिसकेको हुन सक्छन्। पक्कै पनि अन्य असंख्यौं रोगहरुमा रोगीको रोग निको पार्ने मात्र नभै रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गर्न मद्दत गर्ने वैकल्पिक तथा पूरक चिकित्सा पद्धतीको प्रभाव यस किसिमका रोगमा भने देखिएको पाइएन। एकपटक जैविक आतंकवादको प्रभाव स्वरुप हाम्रो शरीरमा प्रवेश गरेको विषाक्त पदार्थलाई कुनै किसिमका खानेकुरा, वा पौष्टीक तत्व आदिको सहायताले शरीरबाट बाहिर निकाल्न सक्ने देखिदैन।
० इन्टरनेटमा गरिने जैवीक आतंकवादको उपचारको दावी के हो?
इन्टरनेटमा विभिन्न किसिमका वेभसाइटहरु देख्न पाइन्छ जसले वैकल्पिक वा पूरक चिकित्साको माध्यमबाट जैवीक आतंकवादसंग लड्न सकिन्छ भन्ने दावी गरेका हुन्छन्, विशेषतः एन्थ्राक्स र ठेउला। त्यस किसिमको दावीमा कुनै सत्यता भएको यस वैकल्पिक तथा पूरक चिकित्सा केन्द्रले पत्ता लगाउन सकेको छैन।
० वैकल्पिक चिकित्सा केन्द्र के गरिरहेको छ?
यो वैकल्पिक तथा पूरक चिकित्सा केन्द्रले यस किसिमका रोगहरुमा आफ्नो भूमिका खोज्नको निम्ति लाखौं रुपैंया खर्च गरेर विभिन्न अध्ययनहरु गर्ने गरेको छ। अहिले पनि यस किसिमका जैवीक आतंकवाद स्वरुप उत्पन्न हुने रोगहरु तथा अन्य रोगहरुमा पनि वैकल्पिक तथा पुरक चिकित्साको भूमिका खोज्ने बारेको अध्ययन गर्ने प्रस्तावका साथ कोही आउंछ भने तिनीहरुलाई यो केन्द्र स्वागत गर्न तत्पर छ। यस किसिमको अध्ययनको क्रममा विभिन्न रसायनीक तथा जनावरमा गरिने परिक्षण सहायक सिद्ध हुने पक्का छ किनकि रोग लागेका मानिसमा प्रमाणित मूल धारका औषधीको प्रयोग थांती राखेर यस किसिमका औषधीको परिक्षण गर्न थालियो भने ज्यान जोखिममा पर्न सक्दछ। यसैकारण जनावर माथि तथा रसायनीक परिक्षणको सहायताले वैकल्पिक तथा पूरक चिकित्सामा कुनै समाधान निकाल्न सकियो भने त्यो आम जनमानसको निम्ति वरदान नै सावित हुने पक्का छ।
० इन्टरनेटमा गरिएका दावीको पछि लाग्नु अघि...............
―जन स्वास्थ्य कार्यालयले जैवीक आतंकवादको निसाना स्वरुप कुनै पनि रोग फैलिएको र त्यसको निम्ति आवश्यक सतर्कता अपनाउनु पर्ने नबताए सम्म त्यस कुराको पछाडी दौडनुको कुनै अर्थ छैन। संक्रमणको निर्क्यौल गर्नको निम्ति तपाईंलाई दक्ष चिकित्सकीय परामर्श र परिक्षणको आवश्यक्ता हुन्छ। उक्त चिकित्सकको सहायताबाट तपाईंलाई संक्रमण छ भन्ने निर्क्यौल भए पश्चात प्रचारमा आएको औषधी तपाईंको निम्ति प्रभावकारी हुन्छ कि हुदैन, तपाईंलाई भएको विभिन्न रोगहरुको कारण कतै यो औषधी तपाईंको निम्ति हानिकारक त छैन, यो कत्तिको सुरक्षित छ वा तपाईंलाई अर्कै औषधी सुरक्षित हुन्छ भन्ने कुराको जानकारी हासिल गर्नुहोस्।
– कतिपय वेभ साइटहरुले त प्रभावकारी औषधीको अर्कै ब्रान्डको विक्री गर्ने समेत गर्दछन्, जुन प्रभावकारी औषधी जत्ति प्रभावकारी नहुन पनि सक्छ भने कतिपय अवस्थामा त विभिन्न हानी समेत गर्न सक्दछ।
– औषधी कहांबाट किन्दै हुनुहुन्छ? कतै छेवैको पसलमा गएर पत्रिका वा इन्टरनेटमा प्रभावकारी भने बहुप्रचारित औषधीको सेवन गर्ने सोचमा त हुनुहुन्न? यो सोच हानीकारक सावित हुनेछ।

No comments:

Blog Archive

Followers