Saturday, January 24, 2009

लागू औषधको राजधानी

श्रीधर खनाल
2009-01-24,Saturday




फरक पृष्ठभूमिका हजारौँ नागरिकहरू फरक-फरक प्रयोजनका लागि दिनहुँ काठमाडौं खाल्डोमा भित्रिन्छन् । र, उनीहरूकै भीडमा मिसिएर भित्रिन्छन्, प्रतिबन्धित लागू औषध । ती नागरिकलाई आफ्नो गन्तव्यमा पुग्न जति हतारो छ, उत्तिकै हतारो हुन्छ लागू औषधका प्याकहरूलाई 'सुरक्षित स्थान'मा पुग्न ।
लागू औषध राजधानीमा भित्र्याउने 'भरिया' का दुई वर्ग छन् । एउटा वर्ग मोटरमा गुडेर आउँछ सडकको बाटो । अर्को वर्ग जो हावा छिचोल्दै आउँछ, जहाजको बिजनेस क्लासमा बसेर । काठमाडौंको कुनै अखडामा यी दुई वर्गको भेट हुन्छ । अनि, पोकामा बेरिएर राजधानीमा भित्रिएको वस्तु एकाएक बहुमूल्य बन्छ । देशको पनि सिमाना नाघेपछि यसको मूल्य कहाँ
पुग्छ ? यी दुवै वर्गले सायदै भेउ पाउँछन् ।

राजधानी आउने गौँडा-गौँडामा रहेका सुरक्षाकर्मीको नाकैमुनिबाट दिनदिनै कसरी पार हुन्छ लागू औषध ? जानिफकारहरू भन्छन्, लागू औषध ओसारपसारमा प्रहरी स्वयंको अप्रत्यक्ष 'योगदान' छ । नियन्त्रणका नाममा प्रहरीले छिटफुट भरियाहरू पक्राउ गरे पनि यसमा संलग्न मुख्य व्यक्ति सधैं सुरक्षित छन् । एकजना भरिया पक्राउ परेपछि केही कुरा प्रहरीसित ओकल्छन्, तर त्यसभन्दा पहिल्यै कारोबारको नयाँ रुट बनिसकेको हुन्छ । धेरै ठाउँमा चेकिङको प्रक्रिया पूरा गरेरै काठमाडौंमा रहेका ग्राहकको सम्पर्कसम्म लागू औषध पुर्‍याउने काममा सवारी चालकको समेत संलग्नता रहेको पाइन्छ ।
प्रहरी र लागू औषधका व्यापारीबीच चल्ने यस लुकामारीमा काठमाडौंका ५० हजार कर्णधारहरूको भविष्य निचोरिएको छ ।

वीरगन्जदेखि काठमाडौंसम्म
कुनै वेला ना २ ख ३०२२ नम्बरको ट्रक-चालक थिए, लकबहादुर तामाङ । अहिले उनी डिल्लीबजार सदरखोरमा छन् । अहिले एउटा अपराधीका रूपमा पीडादायी जीवन बिताइरहेका लामाको धन्दा त्यसवेला ड्राइभरको भेषमा लुकेको थियो । वीरगन्जबाट काठमाडौं आउँदा हरेक पटकजसो लागू औषध बोक्थे उनी ।
काठमाडौं आउनासाथ सम्बन्धित व्यक्तिलाई फोन गर्थे । 'माल' आएको जानकारी पाएपछि लामाले भनेको ठाउँमा आइपुग्थे क्रेता । पैसाको बिटो लिएर लामा फेरि माल लिन वीरगन्ज फर्किन्थे ।
वीरगन्ज र काठमाडौंबीचका दूरीमा अहिले धेरै लकबहादुर थपिएको प्रहरीको अनुमान छ । तर, आवश्यक सूचनाका अभावमा अनुमानलाई वास्तविकतामा बदल्न नसकिएको उसको भनाइ छ ।

काठमाडौंलाई केन्द्र बनाएर गिरोहले व्यापार बढाएको बढाएकै छ । यही फेरोमा प्रहरी र अदालतले समेत प्रश्न खेप्नुपरेको छ ।
लकबहादुर कसरी समातिए ? उनकै शब्दमा- किन्न आउने मानिसले नै प्रहरीमा खबर गर्‍यो । २१ फागुन, ०६४ मा कोटेश्वरबाट लकबहादुर पक्राउ परेका थिए । उनले ग्राहकका भेषमा आएको प्रहरीलाई दिन माल निकाले । उनीसित थियो, बुपिनफिर्ल र डाइजिपाम । नेपालमा प्रतिबन्ध लगाइएका यी दुई औषधिका दुई हजार पिस र क्याप्सुल भारतको जोगबनीबाट वीरगन्ज हुँदै काठमाडौं आएका थिए ।
वीरगन्जका सूर्य भन्ने व्यक्तिले आफूलाई लागू औषध काठमाडौं पुर्‍याउन दिएको लकबहादुर बताउँछन् । उनले भने, '६ हजार भाडा दिन्छु भनेपछि मैले सामान ल्याइदिएको थिएँ ।'

काठमाडौंमा प्रयोग हुने डाइजिपाम, फेन्सिडिलजस्ता लागू औषध मात्र हैन हेरोइनसमेत नेपाल-भारतका विभिन्न सिमाना हुँदै काठमाडौं आउने गरेको छ । देवानन्द बैठा वीरगन्जबाटै खैरो हेरोइन लिएर काठमाडौं आए । बाफलमा ग्राहक कुरेर बसेको अवस्थामा उनी पक्राउ परे ।
बैठाले काठमाडौं आउन रात्रिबस प्रयोग गरेका थिए । गौरी नामकी महिलालाई ६१ हजार रुपैयाँमा बेच्ने निर्णय भएपछि नुर आलमले बैठालाई काठमाडौं पठाएका थिए । माल र ग्राहकको सम्पर्क नम्बर लिएर काठमाडौं आएका बैठाले ६ महिनादेखि हेरोइनको कारोबारमा संलग्न भएको स्विकारेका छन् ।

वीरगन्जमा सोनालाल पण्डित र नुर आलमको समूहका सदस्य रहेका बैठाले दिएको हुलियाका आधारमा पनि प्रहरीले उक्त समूहका अरू सदस्यलाई पक्राउ गर्न सकेन । वीरगन्जमा रहेको ०५१५३०९०२ मा फोन गरेर हेरोइन मगाउन सकिने बैठाले प्रहरीलाई जानकारी दिएका छन् ।
काठमाडौंको ज्ञानेश्वरमा ग्राहकको प्रतीक्षामा रहेका रमेश आलेले पनि वीरगन्जबाट खैरो हेरोइन किनेर ल्याए । सात ग्राम खैरो शर्माजी भन्ने व्यक्तिबाट पाँच हजार रुपैयाँमा किनेेको उनले बताए । उनले उक्त हेरोइन नेपालमा दुव्र्यसनीलाई बेच्न थालेको पनि उल्लेख गरे ।
काठमाडौंमा धेरैजसो खैरो हेरोइन वीरगन्जको बाटो भएर आउने गरेको लागू औषध कानुन कार्यान्वयन इकाइका प्रहरीहरू बताउँछन् । नेपालमा रहेका दुव्र्यसनीहरूलाई बेच्न सामान्यदेखि ठूलो परिमाणको हेरोइन यही बाटो भएर काठमाडौं आउने गरेको छ ।

काठमाडौंदेखि अबुधाबीसम्म
पाकिस्तानी नागरिक महम्मद हुसेन तेस्रोपटक लागू औषध लिएर काठमाडौंबाट अबुधाबी जान लाग्दा पक्राउ परे । पुतलीसडकको तिरुपती होलिडे इनमा बसेका हुसेनलाई माल सप्लाइ गर्थे व्यापारी जगदीशप्रसाद राणा सरिया । भारतीय नागरिक सरिया नेपालमा २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न थिए । देखिने कारोबार भए पनि उनी गोप्य रूपमा कालो धन्दा गर्थे । क्यासिनो जानु उनको दैनिकीको एक भाग थियो ।

एभरेस्ट क्यासिनो सरियाको कालो कारोबारका बारेमा सम्पर्क स्थापित गर्ने ठाउँ थियो । त्यहीँ भारतीय नागरिक शक्ति सेहगलसँग उनले व्यापारका बारेमा कुरा गरेका थिए । उनको यस कारोबारमा दीपक लामा तामाङ नाम गरेका ड्राइभरले सहयोग गर्दै आएका थिए । सरियाले दुई पटकसम्म हुसेनलाई १९ र २५ किलो साइकोट्रोपिक वार्पिडोन नामक लागू औषध दिएका थिए । हुसेनले सो औषधि अबुधाबीमा बेच्दै आएका थिए ।

नेपालदेखि अबुधाबीसम्मको यो यात्रा निकै जमेको थियो । अबुधाबीमा लागू औषध पुर्‍याएर हुसेन लाहोर पुग्थे । लाहोरबाट काठमाडौं र फेरि अबुधाबी । नेपालमा माल तयार भएको थाहा पाउनासाथ उनी हान्निएर काठमाडौं आउँथे । ०५९ सालमा कालोबजारी गरेको अभियोगमा मुद्दा खेपिसकेका सरियाका नेपालमा पशुपति मार्केटिङ र पशुपति बिजनेस हाउस गरेर दुईवटा र्फम छन् ।
अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको एक सयजति बैंक स्टेटमेन्टको चाङले पनि सरियाको आर्थिक हैसियत झल्काउँछ । काठमाडौंबाट विदेशमा लागू औषध पठाउने खानदानी व्यापार हुने गरेको अर्को उदाहरण हो सरियाले प्रहरीलाई गरेको अफर । प्रहरीलाई उनको समूहले तीन करोड रुपैयाँ दिने बताएको थियो ।

जेलभित्रै बन्छ योजना
इन्टरनेसनल ब्ल्याक स्पाइडरको नाम कुनै वेला काठमाडौंमा चर्चित बनेको थियो । सो समूहले लामो समयसम्म काठमाडौंमा धनी र प्रतिष्ठित व्यक्तिहरूलाई फोन गरेको भरमा पैसा उठाउँदै आएको थियो ।
काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. हेमांग दीक्षितलाई गोली प्रहार गरेपछि उक्त समूह नेपालमा बस्न नसक्ने अवस्थामा पुग्यो । डा. दीक्षितलाई गोली प्रहार गरेपछि उक्त समूहलाई खोज्न प्रहरी सक्रियता बढ्यो । सम्भावित घटनाको आँकलन गरेर समूहका सदस्यले नेपाल छाडे । भारतका रक्सौल क्षेत्रमा बसेर फोन गरेका भरमा नेपाली व्यवसायीले पैसा दिन छाडेपछि समूहका सदस्यलाई आच्छु-आच्छु पर्‍यो । आर्थिक समस्याबाट मुक्त हुने बाटो पत्ता लगाए, सन्दीप पाठकले ।

पाठकले धनी हुने नयाँ कारोबारमा लागू औषधको क्षेत्र छाने । आफ्नो समूहका सदस्यलाई उनले हेरोइन बोकाएर काठमाडौं पठाए । फोनमार्फत काठमाडौंमा हेरोइन किन्ने व्यवस्था मिलाएका थिए । उनीहरूले भारतमा नभएर वीरगन्जमै खैरो हेरोइन किनेका थिए । पाठकको निर्देशनअनुसार पाइन्टका सबै खल्तीमा केही ग्राम हेरोइन राखेर उक्त समूह काठमाडौं आएको थियो । तर, हेरोइनको नयाँ व्यापारको सुरुवातमै पाठकको समूह प्रहरी नियन्त्रणमा पुग्यो । गोंगबुमा रहेको नयाँ बसपार्कबाट उक्त समूहका पाँच सदस्यलाई पक्राउ गरिएको थियो । नयाँ कारोबारमा ब्ल्याक स्पाइडरको पहिलो परीक्षण असफल भयो ।
जेलमा थुनिएकै अवस्थामा समेत लागू औषध कारोबारको योजना बनाउनेको संख्या प्रशस्त छ । २१ फागुन, ०६४ मा पक्राउ परेका अशोक शाह दुई वर्ष जेल बसेर निस्केपछि पुरानै पेसामा फर्के ।
जेलमा बस्दा उनको सम्पर्क वीरेन्द्र क्षेत्रीसँग भयो । उनी पनि लागू औषध मुद्दामा जेल परेका थिए । जेलमा गाँसिएको मित्रता बाहिर निस्केपछि साझेदारीमा परिणत भयो ।

लागू औषध कानुन कार्यान्वयन इकाइका प्रमुख हेमन्त मल्ल जेलमा योजना मात्र नभई हेरोइन कारोबारसमेत हुने गरेको स्विकार्छन् । उनले भने, 'जेलमा रहेका व्यक्तिको समेत हेरोइन कारोबारमा संलग्नता हामीले पुष्टि गरेका छौँ ।'
भारतमा बसेर अपहरणको तानाबाना बुनेको अभियोगमा प्रहरी नियन्त्रणमा पुगेका अमर टन्डन क्यानडा जाने तर्खरमा थिए । भारतको नयाँ दिल्लीमा उनलाई नेपाल प्रहरीले पक्राउ गर्‍यो । गुल्मी जिल्लामा पुख्र्यौली घर भएका टन्डनले भारतको मुम्बईमा बसेर दुई नम्बरी धन्धा सिकेका थिए । अपहरणभन्दा पहिला उनी लागू औषधको कारोबार गर्थे । क्यानडा गएर सोही धन्दालाई सुचारु गर्ने उनको योजना थियो ।

चरेस कारखाना
चर्चित अपराधी चाल्र्स शोभराजले कुनै समयमा भनेका थिए, 'नेपालमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट म सजिलै हात्तीसमेत पास गराइदिन सक्छु ।' यस कुरालाई प्रमाणित गरिदए, चरेस तस्कर पूर्णलाल श्रेष्ठले । काठमाडौंको बालाजुमा चरेस कारखानासमेत खोलेका श्रेष्ठ नेपालबाट अन्तर्राष्ट्रिय बजारमा चरेस पठाउने काममा संलग्न थिए ।
०५४ सालमा बालाजुमा चरेस कारोबार गर्नका लागि श्रेष्ठको समूहले २० हजार रुपैयाँमा घर भाडामा लिएको थियो । लागू औषधको कारोबारमा मास्टर माइन्ड श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पाँच सय ७६ किलो चरेस क्यानडा पठाउन सफल भए ।

एउटा व्यापारिक र्फमका नामबाट श्रेष्ठको समूहले अन्तर्राष्ट्रिय कार्गो बुकिङ गरेको थियो । श्रेष्ठले बनाएको योजनाअनुसार चरेसको पाता उलन ज्याकेटमा प्याक गरियो । यसका लागि नेपाली बजारमा पाइने सबैभन्दा राम्रो ज्याकेटको प्रयोग गरिएको थियो । ज्याकेटलाई सानदार बाकसमा प्याक गरियो । बाकसको बाहिर क्यानडामा सामान बुझ्नेको नाम थियो भने नामको तल हस्तकलाका सामान भएको विवरण ।

श्रेष्ठका सहयोगी सीताराम कँडेलका अनुसार यसरी प्याक गरिएको ३१ बाकस सामान १३ पुसमा विमानस्थलको कार्गो कक्षमा विधिवत् बुक गरियो । सामानको प्रज्ञापनपत्र तयार गर्ने काममा विमानस्थलका कर्मचारीले समेत सक्दो सहयोग गरे । २९ पुसमा नेपाल वायुसेवा निगमको जहाजले उक्त सामान उडायो । त्यसपछि श्रेष्ठले नयाँ टोयटा कार किने ।
काठमाडौंबाट उडेको नेपाल वायुसेवाको जहाज जापानको ओसाका विमानस्थलमा अवतरण गर्‍यो । नियमअनुसार ओसाकामा नेपालबाट गएको कार्गोको जिम्मा एयर क्यानडाले लियो । नेपालबाट उडेको सामान क्यानडाको टोरेन्टो विमानस्थल पुग्यो । त्यहाँको विमानस्थलमा सामान जाँच गर्दा रातो बत्ती बल्यो । प्रहरीले बाकस फुटाएर सामानको परीक्षण गर्दा थाहा लाग्यो— उलन ज्याकेटभित्र निकै मिलाएर राखिएको थियो चरेस । त्यतिवेलासम्म नेपालका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति ठूलो परिमाणमा चरेस सप्लाइ भएको छ भन्ने पत्तो पाएका थिएनन् ।

१७ जनवरी, १९९८ मा क्यानडाको विमानस्थलमा चरेस बरामद भएपछि क्यानडा सरकारले नेपाल सरकारलाई जानकारी गरायो । क्यानडा सरकारले लेखेको पत्र पाएपछि मात्र नेपाल सरकारका प्रतिनिधि झसंग भए । त्यसपछि कार्गो बुक भएको ठाउँ खोज्न थालियो ।
प्रहरी अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भयो । मुद्दा दायर गर्ने क्रममा उक्त लागू औषध काण्डमा संलग्न व्यक्तिहरू नभेटिएका कारण ८ वैशाख, ०५७ मा काठमाडौं जिल्ला अदालतले मुद्दा मुल्तबीमा राख्यो । सो चरेस काण्डका प्रमुख योजनाकारलाई अहिलेसम्म पनि प्रहरीले भेट्टाउन सकेको छैन ।

प्रहरीले भेट्टाउन नसकेको यो समूह अहिलेसम्म पनि चरेसको व्यापारमा संलग्न रहेको देखिन्छ । १७ साउन, ०६५ मा प्रहरीले बा १ ज ५६४६ नम्बरको भाडाको ट्याक्सी पक्राउ गर्‍यो । उक्त ट्याक्सीका चालक बलबहादुर कार्कीले धादिङको पानीघाटबाट पाँच हजार भाडामा चरेस बोक्ने गरेको बयान दिएका थिए । कार्कीले एक सय ८९ किलोको तीन सय ७८ पाता चरेस काठमाडौं ल्याएका थिए । रामचन्द्र कार्कीको संलग्नतामा भएको उक्त चरेस ओसारपसारमा जोडिए अग्निकुमार भट्टचन, सुरेश राउत र पूर्णलाल श्रेष्ठ । अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेका श्रेष्ठको समूहलाई कार्कीले चरेस सप्लाइ गरेको बताए । यस समूहले क्यानडा, डेनमार्क र जापान चरेस पठाउने गरेको समेत कार्कीले खुलासा गरेका छन् । १० वर्षभन्दा लामो समयसम्म चरेस सप्लाइका काममा संलग्न भएको यस समूहका बारे प्रहरीसँग थप जानकारी छैन ।

चोखो छैन अदालत
जगदीशप्रसाद राणा सरिया अहिले थुनामा रहेका सबैभन्दा खानदानी लागू औषध तस्कर हुन् । उनको मुद्दा अहिले अदालतमा विचाराधीन छ । ठूलो संख्यामा भारतीय मारवाडी समूह सरियालाई निरपराध प्रमाणित गर्न चाहन्छ ।
यसभन्दा पहिला अदालतबाटै रबिन्सन र डिबी गुरुङले यस्तो प्रमाण पाइसकेका छन् । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश तथा वर्तमान उपराष्ट्रपति परमानन्द झाले डिबी लामाको बयानलाई आधार बनाएर रबिन्सन चरेस काण्डमा संलग्न नभएको प्रमाणित गरिदिएका थिए । डिबीले सेरामिक्सका भाँडाकुँडा निकासी गर्ने नाममा प्याक गरिएको बाकसमा फल्स बटन लगाएर लागू औषध राखेका थिए ।

कार्गो कनेक्सनमा क्यानडा पठाउन बुकिङ भएपछि कार्गो सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । २२ बाकसमा ६ सय ६९ किलो चरेस भेटिएपछि पक्राउ परेका डिबी लागू औषध कारोबारमा संलग्न नभएको फैसला गरिदिए न्यायाधीश झाले । तर, गुरुङका कोठामा क्यानडामा चरेस पाउने पार्टीको ठेगाना पि्रन्ट भएको कागज भेटिएकाले नौ लाख धरौटी लिने निर्णयसमेत गरेर झाले धेरैलाई अचम्ममा पारे ।

गोर्डन विलियम रबिन्सनको मुद्दामा अदालततले विवादास्पद नजिर बनायो । सर्वोच्च अदालतका न्यायाधीश कृष्णकुमार बर्मा र बलिराम कुमारले गरेको फैसलाले 'रबिन्सनको जुत्ता खोलेको कुरा मुचुल्कामा नभएकाले उनलाई निर्दोष मान्ने' निर्णय गरेको छ । १ भदौ, ०५८ मा रबिन्सनका जुत्ता र ब्यागबाट प्रहरीले दुई किलो तीन सय १५ ग्राम हेरोइन बरामद गरेको थियो ।

गैरकानुनी रूपमा लागू औषध ओसार-पसारको अभियोगमा सन् २००८ मा जिल्ला अदालतमा ७८ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष ७९ मुद्दा दर्ता भएका थिए । अपराधको यो यात्रा कहाँ गएर रोकिएला ?

No comments:

Blog Archive

Followers