Tuesday, January 6, 2009

प्रचण्ड प्रसंग

प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, "तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।" त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- 'खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?' घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।

पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए । तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए । प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए । परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले । छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, 'ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो ।' सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने ।
राजनीतिक यात्रा
पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो ।"
श्रीमतीको कचकच
२०४० सालतिर, नेकपा 'चौम' समर्थक अखिल नेपाल युवा संगठनका अध्यक्ष प्रचण्डलाई संगठनको सिलसिलामा पोखरा जानुपर्ने भएछ । घरबाट निस्कन लाग्दा श्रीमती सीताको नानाथरी कचकच सुन्नुपर्‍यो । अनि उनले आˆना सहकर्मी बादलका साथमा चिठी पठाए- 'कमरेडहरू, म अत्यन्त महत्वपूर्ण घरायसी कामले आउन सकिनँ । तपाईंहरू मिलेर निर्णय गर्नुहोला ।' प्रचण्डकी श्रीमती चाहन्थिन्, श्रीमान्ले राजनीति नगरून् । तर, श्रीमान् भने पार्टीको पूर्णकालीन सदस्य बन्न चाहन्थे । परिवारको यस्तै कुरा केन्द्रीय समितिमा पुगेछ । केही केन्द्रीय सदस्यले उपाय सुझाएछन् । एक दिन सीता घरमा नभएको मौका छोपेर केही साथील्ो प्रचण्डले बोक्ने गरेको कापीकलम, झोला र केही लुगा लुकाइदिए र उनलाई पनि त्यो दिन घर नजान सल्लाह दिए । बेलुका केही सदस्य घर जाँदा सीताले श्रीमान् नआएकोमा चिन्ता व्यक्त गरिन् । कार्यकर्ताले 'तपाईं जहिले पनि पार्टीमा नजाऊ भनेर किचकिच गर्नुहुन्छ, उहाँ त अब कहिल्यै पनि आउनुहुन्न' भनेर सुनाए । श्रीमान्को पीरले सीता रून-कराउन थालिन्, 'जसरी भए पनि मेरा श्रीमानलाई घरमा ल्याइदिनुपर्‍यो, अब संगठनको कामकाज गर्दा रोक्नेछैन ।' अपठित सीतालाई के थाहा, त्यो एउटा नाटकमात्र थियो । त्यसपछि मात्र प्रचण्डले निर्धक्क पार्टीको काम गर्न पाए । सुरूका दिनमा राजनीति पटक्कै मन नपराउने सीता अहिले प्रचण्डसँगै भूमिगत जीवन बिताइरहेकी छिन् । २०६२ फागुन २ गतेको जनादेशमा श्रीमतीका बारेमा प्रचण्डले भनेका छन्, 'क. सीता पौडेलको मप्रतिको अटुट प्रेम र संघर्षशील विद्रोही स्वभावको प्रभाव ममा अवश्य परेको छ । अटुट प्रेमसहित आफूलाई लागेको कुरामा बिना हिचकिचाहट मेराविरूद्ध समेत संघर्ष गर्ने दृढतालाई मैले उच्च मूल्यांकन गर्ने गरेको छु । उनको त्यही प्रेम र संघर्षपूर्ण चरित्रकै कारण सामान्य साक्षर मात्र भए पनि खासखास मोडमा पार्टी र आन्दोलनलाई सन्तुलित ढंगले अगाडि बढाउन उनको महफ्वपूर्ण भूमिका रहँदै आएको छ ।'
फेरि वैद्यनजिक
प्रचण्डको सम्बन्ध मोहन वैद्यसँग नजिक हुन पुग्यो । किनभने, त्यतिखेर वैद्य पनि मोहनविक्रमबाट छुट्टीएर नेकपा 'मशाल' का महामन्त्री भएका थिए । त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्न नपाउँदै प्रहरीकहाँ त्यो सूचना पुग्यो र दर्जनौँ कार्यकर्ता पक्राउ परे । त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरे । ०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू 'मशाल', चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए । त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखा पर्‍यो, जसले एक वर्षपछि सशस्त्र विद्रोह थाल्यो । ०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालिम दिएका थिए । २०६२ फागुन २ गतेको 'जनादेश' लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, "त्यो तालिमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरूङको घरमा गयौँ । त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो ।" त्यो टिमका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन् । त्यसपछि ०५२ मा 'जनयुद्ध' थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालिम दिए, प्रचण्डले । १० वर्षका दौरानमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी अहिलेसम्म प्रत्यक्ष लडाइँमा सहभागी भएका छैनन् ।
आमा बित्दाको क्षण
०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन् । उनलाई वीर अस्पताल पुर्‍याइयो । मुक्तिरामलाई सम्झना ताजै छ, प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए । दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो । अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे । किरिया गरेनन्, भाइले गरे । ०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो । न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा । घरको प्यारो नाम 'बाबु' थियो । तर, स्कुल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन् । बाबुआमाले प्रचण्ड भन्ने नाम आˆनो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन् ।
पकड बलियो हुँदै
०५७ सालमा भारत, पन्जाबको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको अवधारणा पास गरेपछि पार्टीभित्रै उनका केही आलोचक पनि जन्मिए । दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेजअनुरूप माओवादीले ०५८ सालमा आˆनो छुट्टै 'जनमुक्ति सेना, नेपाल' गठन गर्‍यो, जसको सर्वोच्च कमान्डर प्रचण्डलाई नै बनाइयो । ०६१ भदौमा फुन्टीबाङमा सम्पन्न बैठकले रणनीतिक प्रत्याक्रमणको योजना कार्यान्वयन गर्न पार्टीको सैन्य र राजनीतिक फाँट दुवैमा प्रचण्डकै नेतृत्व हुनुपर्ने निर्णय गरेपछि डा. बाबुराम भट्टराई समूहसँग उनको मतमतान्तर हुन पुग्यो । यस विवादले यतिसम्म ठूलो रूप लियो कि दुवै नेताहरू एकअर्कामा दरबारपरस्त र भारतपरस्त भन्नेजस्ता आरोप-प्रत्यारोपसमेत भए । 'माघ १९' पछिको अन्तर्राष्ट्रिय दबाब नभएको भए सायद माओवादी पार्टी यतिखेर फुटिसक्थ्यो । राजाको 'कू' का कारण माओवादीको अन्तर्राष्ट्रिय सङ्गठन -रिम र पार्टीभित्रका केही नेताको दबाबमा प्रचण्ड र बाबुरामको विवाद मिलाए । यो विवाद २०६२ कात्तिकमा सम्पन्न चुनबाङ बैठकमा सबै पक्षबाट आत्मालोचना गरेर साम्य भएको थियो । पछिल्लो अवस्थामा पार्टीभित्र प्रचण्डको दह्रो पकड देखिन्छ । श्रीमती सिता त पार्टीमा छन नै उनका दुई छोरी र एक छोरा सबै पार्टीका 'डब्लूटी' बनेका छन् । विद्रोहको सुरूदेखि नै आधारइलाकामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पोस्टबहादुर बोगटी (दिवाकर) की छोरीसँग प्रचण्डका छोरा प्रकाशको विवाह २०६२ फागुनमा एक भव्य समारोहबीच भारतमा भएपछि उनको अर्को नाता गाँसिएको छ । उनका छोरीपट्टीका सम्धी दुवै भारतमा प्रवास ब्युरोमा कार्यरत छन् ।
आनीबानी
प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा. बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, "प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै 'डायनामिक' मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो । प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।" प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो । उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको 'आमा' हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् । सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, 'श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।' खेलकुदका बारेमा प्रचण्ड भन्छन्, 'बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।' उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आˆनो आदर्श नेता लेनिनलाई मान्छन् । २०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।

source:http://www.hamrosamachar.com

No comments:

Blog Archive

Followers