Monday, January 12, 2009

नरबहादुर भारती, ग्रामोफोन रेकर्ड बनाउने

औपचारिक शिक्षा-दीक्षाको अभावमा पति लगनशील मेहनती र साहसी व्यक्तिहरूले महत्त्वपूर्ण वैज्ञानिक देन दिन सक्दोरहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण दिन लायक विलक्षण वैज्ञानिक प्रतिभायुक्त व्यक्तिको नाम हो- वैज्ञानिक नरबहादुर भारती । वैज्ञानिक गेहेन्द्र शमशेरले धेरै धन, परिश्रम र बुद्धि लगाएर बनाउन नसकेको ग्रामोफोन रेकर्ड सफलतापूर्वक बनाउने श्रेय उनकै समकालीन वैज्ञानिक नरबहादुर भारतीयलाई जान्छ । राणा शासकहरूबाट कुनै पनि प्रकारको प्रोत्साहनबिना नै आफ्नै स्वाध्यायन र आफ्नै खर्चमा विज्ञानको नयाँ-नयाँ प्रयोगमा निरन्तर लागिपरेका नरबहादुर भारतीको स्वभाव अत्यन्त सरल थियो, तर उनी कसैबाट नडग्ने खालका थिए । युवालाई सामाजिक कार्यमा लागि पर्न प्रोत्साहित गरिरहने वैज्ञानिक नरबहादुर भारतीले नरिबलको तेलमा लुगा धुने सोडाको उचित मात्रा मिलाएर त्यसलाई पकाउँदा बन्ने पदार्थबाट ग्रामोफोन रेकर्ड बनाएका थिए । यसबाहेक उनले अत्यन्त राम्रो नेपाली पालिस, नेपाली बेढ्ला (भ्वाइलिन) इनलेडको राइटिङ केस, विशेष प्रकारको लठ्ठी र १ हजार वर्षसम्म टिक्ने रसायन औषधि बनाएर नेपालको विज्ञान र प्रविधिको विकासमा ठूलो योगदान दिएका थिए । उनले पारोलाई भस्म गर्ने विधि निकाल्ने, विभिन्न धातुको मिश्रण तयार गर्ने, बेलायती गिन्नीमा भएको सुन र तामाको मिश्रणको रहस्य पत्ता लगाउने, तोरीको तेलमा गन्धक मिसाएर पकाई कृत्रिम रबर बनाइकन रबरको जुत्तासमेत बनाउने कार्य गरेका थिए । गीत-संगीत र साहित्यमा समेत सिद्धहस्त भारतीले आफ्नो जीवनकाल सरकारी नोकरी नै नगरीकन खोपासीमा मठ चलाइ विज्ञान क्षेत्रमा निकै उल्लेखनीय योगदान गर्दै बिताए । अन्त्यमा २०३३ साल माघ १० गते ८७ वर्षको उमेरमा उनको मृत्यु भयो । उनलाई २०१६ सालमा तत्कालिन त्रिभुवन पुरस्कार (पछि त्रिभुवन प्रज्ञा पुरस्कार भनिन्थ्यो) बाट सम्मानित गरियो ।

1 comment:

Sailesh Bharati said...
This comment has been removed by the author.

Blog Archive

Followers