Saturday, January 24, 2009

१७ वर्षीया युवती विवाह गर्दा ७० वर्षीय वृद्धको बिचल्ली

प्रदीप पाण्डेय/नयाँ पत्रिका
दाङ, ८ माघ

घर-घरमा स्वस्थानी कथावाचन हुँदै गर्दा १७ वर्षीया युवती बिहे गरेका दाङका ७० वर्षे वृद्ध वीरबहादुर ओली भने बेमेल बिहेकै कारण सबै सम्पत्ति गुमाउनुपरेको बिलौना गर्दै हिँडिरहेका छन् ।

७० वर्षीय वृद्ध शिव भट्टले सात वर्षीया गोमालाई बिहे गरेको रोचक प्रसंग स्वस्थानी कथामा भए पनि दाङ बिजौरी- ३ मणिकापुरका ओलीको कथा भने त्यत्तिकै विरक्तलाग्दो छ ।

बुढेसकालमा सहयोग होला भनेर आफ्नै गाउँकी १७ वर्षकी मीना रावतसँग बिहे गरेका ओली त्यतिवेला झस्के जतिवेला मीनाले त अरूसँगै बिहे गरिसकेको चाल पाए । ओलीले भने, 'मीनाका बाबु-छोरी मिलेर मेरो भएभरको सम्पत्ति कुम्ल्याए ।'

वीरबहादुरले ०६० सालमा दाङ बिजौरी- २ सक्रामनिवासी डिल्लीबहादुर रावतकी छोरी मीनासँग वैवाहिक जीवन सुरु गरे । कन्या भनेर विवाह गरेका वीरबहादुरले पछि थाहा पाए, उनी त रोल्पा पोइल गएर घर नगरी माइतै बसेकी रहिछिन् ।

लाखौँ नगद खेलाएका धनीमानी वीरबहादुर गाउँकै नातिनीजस्ती कन्या पाएकामा मख्ख भएर छोरा-बुहारीलाई समेत अंश नदिई नयाँ ससुरा डिल्लीबहादुरलाई पैसा दिन थाले । गाउँकै चलाख डिठ्ठा भनेर चिनिने ससुरा डिल्लीबहादुरले 'तपाईं अब भैरहवामा बस्नुस्, हामी घर हेर्छौं' भनेर सबै पैसा कुम्ल्याएको वीरबहादुरले बताए ।

'जीवनसंगिनी भनेर सबै मीनाकै नाममा गरिदिएँ, एक वर्षभित्र सबै सम्पत्ति कुम्ल्याइसकेपछि अदालतमा मुद्दा पो हालिछ मोरीले ।' मुद्दा हालेर बाबु-छोरी बेपत्ता भएपछि आफू श्रीमतीको खोजीमा भौँतारिएको उनले बताए । डिठ्ठा डिल्लीबहादुर छोरी जन्माइसकेकी श्रीमतीलाई समेत कुमारी प्रमाणित गरेर कानुनलाई समेत चुनौती दिने दाङका चर्चित व्यक्ति हुन् ।
बिहे भएको एक वर्षसम्म मीनासँग निकै राम्रो सम्बन्ध कायम रहेको र एक वर्षपछि श्रीमती र ससुराले सबै सम्पत्ति लिएर आफूलाई अलपत्र पारेको वीरबहादुरले बताए । ससुरा र श्रीमतीले नगद, गरगहना र जग्गा गरी २४ लाख लगेको उनले बताए । डिठ्ठाले छोरी लुकाएको दाबी वीरबहादुरको छ । ७० वर्षको हुँदा १७ वर्षकी युवती विवाह गरेका वीरबहादुरले श्रीमतीको नागरिकता बनाई विवाह-दर्तासमेत गरिसकेका छन् ।

डिल्लीबहादुर साथी भएकाले भेट हुँदा दुःखको कुरा सुनाएपछि छोरी मीनासँग आफ्नो विवाह गरिदिएका थिए । छोरीसँग विवाह गरिदिनुपूर्व नै डिल्लीबहादुरले पटक-पटक गरी १० लाख रुपैयाँ लिएको उनले बताए । 'बुढेसकालमा सहारा खोज्दा घर न घाटको भइयो,' वीरबहादुरले भने, 'छोरा-बुहारी हुँदाहुँदै श्रीमतीले स्याहार गर्ली भनेको त उल्टै ठगेर भागी ।' श्रीमती र ससुराले सबै सम्पत्ति लगेपछि उनी अहिले भाइका घरमा शरणार्थी जीवन बिताइरहेका छन् । उनले भने, 'छोराबुहारी हुँदाहुँदै कान्छी ल्याएँ, उनीहरूले अलपत्र बनाएपछि भाइसँग बस्न बाध्य छु ।'

दाङमा हुने गरेका धेरैजसो कार्यक्रम र पत्रकार-सम्मेलनमा पुगेर आफूलाई न्याय दिलाइदिन अनुरोध गर्ने वीरबहादुर ससुरा र श्रीमतीले जति रकम खाए पनि श्रीमतीसँग बस्ने व्यवस्था मिलाइदिन सबैसँग अनुरोध गर्छन् । भन्छन्, 'आजसम्म जे भयो, भयो बुढेसकालमा श्रीमतीसँगै बस्न पाए हुन्थ्यो ।' ०६१ सालमा मीनाले वीरबहादुरसँग छोडपत्र र अंश माग गर्दै जिल्ला अदालत दाङमा मुद्दा हालेकी छिन् । अदालतमा मुद्दा चलिरहे पनि मीना एकपटक पनि तारेख बोक्न अदालत आएकी छैनन् । उनको तारेखमा उनकी आमा वा आफन्त आउने गरेका छन् ।

मीनाका बुबा डिल्लीबहादुरका नाममा समेत दर्जनौँ मुद्दा परिसकेका छन् । जेठी श्रीमतीलाई श्रीमतीका रूपमा नस्विकारेपछि उनलाई गाउँमा सार्वजनिक रूपमा बहिस्कारसमेत गरिएको छ ।

No comments:

Blog Archive

Followers