Monday, January 12, 2009

गेहेन्द्र शमशेर, वैज्ञानिक

राणा प्रधानमन्त्री वीर शमशेरका जेठा छोरा गेहेन्द्र शमशेरले विज्ञान र प्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए । आफ्नो छोटो जीवनकालमा उनले गेहेन्द्र राइफल, गेगन, वीरगन, धीरगन, तोप मेसिनगन, गोली, गोला, कार्टिज, चारनाले तोप जस्ता हातहतियार र खर-खजाना निर्माण गरेका थिए । यसबाहेक उनले धान कुट्ने कल, हावाबाट चल्ने मील र बालाजुमा छाला प्रशोधन कारखाना स्थापना गरेका थिए । त्यसैबेला अत्यन्त चमत्कारपूर्वक पानीमुनि बीजुलीबत्ती बालेर नेपालीहरूलाई आश्चर्यचकित पारेका थिए । उनले आफ्ना सहयोगीहरू डस्नर, काजीमान, हल्मारत्न, वीरमान, कुलमान, कालू, लाल, चीता एवं मुसे थापा र टेकबहादुरको सहायता लिई जमल (सेतो दरबार) सुन्दरी जेल र बालाजुमा स्थापित प्रयोगशालाबाट व्यवस्थित वैज्ञानिक अनुसन्धान र आविष्कारको कार्य थालेको देखिन्छ । ३६ वर्षको युवा उमेरमै गेहेन्द्र शमशेरको असामयिक र दुःखद् मृत्यु भयो । आफ्नै काका तथा तानाशाह चन्द्र शमशेरको शासनकालमा ठूलो दमन र प्रहार सहँदै नेपालको वैज्ञानिक विकासमा लागिपरेका गेहेन्द्र शमशेरको मृत्युपछि चन्द्र शमशेरको दमन अभियान निकै चर्कियो । यसैको मारमा परेर गेहेन्द्र शमशेरका सहयोगी वैज्ञानिक प्रतिभा कोही जेलमा सडे, कोही देश निकालामा परे । मूसे थापा र टेकबहादुरलाई चन्द्र शमशेरले देश निकाला गर्‍यो भने कालू नामक मिस्त्री 'आयल इन्जिन'को लोतामा परेर मर्‍यो । कतिले जेलको सजाय भोग्नुपर्‍यो । विज्ञान र प्रविधिमाथि शासकको यो प्रहारमा नेपालमा सर्वप्रथम हवाइजहाज र रेल बताउने विमान पण्डितजस्ता गेहेन्द्र शमशेरका समकालीन वैज्ञानिकमाथि पनि परेको थियो । त्यसबेला गेहेन्द्र शमशरेरजस्तै विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत विमान पण्डित, प्रसिद्ध गणितज्ञ गोपाल पाण्डे र धातु विशेषज्ञ देवराज शाक्य एवम् नरबहादुर भारती जस्ता ग्रामोफोन रेकर्डका निर्माता वैज्ञानिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासकको प्रहारको शिकार भएका देखिन्छन् ।

No comments:

Blog Archive

Followers