Saturday, January 31, 2009

कोरियामा नेपाली चेलीको खरिद बिक्रि

वर्षौंदेखि नेपाली युवतीलाई विवाहजालमा पारेर भारतीय वेश्यालयमा बेच्ने दलालहरू अहिले कोरियातिर लागेका छन्। भारतमा हुने चेलीबेटी बेचबिखनमा सञ्चारमाध्यम, मानवअधिकारकर्मी र महिला हकअधिकारकर्मी संस्थाहरूको निगरानी तथा प्रहरीको हस्तक्षेप बढ्न थालेपछि तस्करहरूले केही समय खाडी मुलुकलाई लक्ष्य बनाएका थिए। तर त्यहाँबाट पनि नेपाली चेलीहरूको अति श्रम र यौन शोषणका हृदयविदारक कथाहरू आउन थालेकाले सजिलै धन्दा चल्न नसक्ने देखेर अब उनीहरूले कोरिया लैजान थालेका हुन्। हिमाल को खोजबाट केही समययता बग्रेल्ती खुलेका म्यारिज व्युरो, नेपालमा बसिरहेका कोरियाली, कोरियाबाट फर्किएका र त्यहीँ बसिरहेका नेपालीहरूको संलग्नतामा राम्रो आम्दानीको लोभ देखाएर कोरियाली युवकसँग नेपाली युवतीलाई विवाह गरेर लैजाने र त्यहाँ वृद्ध, अशक्त र केटी नपाएका पुरुषहरूलाई बेच्ने गरेको रहस्य फेला परेको छ।

कोरिया जान पाउने लोभमा बानेश्वरको एउटा म्यारिज व्युरोमार्फत गएको असोजमा ३२-३३ वर्षको एक कोरियाली युवकसँग बिहे गरेर उडेकी नुवाकोटकी दावा शेर्पा (२२)लाई मानसिक अवस्था ठीक नभएका एक वृद्धलाई हस्तान्तरण गरियो। रोइकराइ गरेपछि तिनै वृद्धका छोरालाई थमाइएकी दावा अहिले कोरियाको किम्जेमा तेस्रो व्यक्तिसँग बसिरहेकी छन्। दुई वर्षअघि काठमाडौंमा ३५ वर्षको एउटा कोरियालीसँग बिहे गरेर गएकी बाग्लुङकी शान्ति मगर (२१)लाई कोरिया पुगेपछि ५६ वर्षका अर्का व्यक्तिलाई सुम्पिइयो। दलाललाई रु.१० लाख बुझाएर बिहेको कागजात बनाई कोरिया पुगेकी उनले यी कुरा कोरियामा अध्ययनरत नेपाली विद्यार्थी मन्जु थापालाई बताएकी हुन्।


एउटाले बिहे गरेर कोरिया लगेपछि अर्कै पुरुषलाई हस्तान्तरण गरिएका दावा र लक्ष्मी।
केही महिनाअघि कोरिया पुग्ने सपना बोकेर काठमाडौँ आइपुगेकी खोटाङकी राई थरकी एक युवतीलाई कोरियालीसँग बिहे गरी त्यहाँ पुर्‍याइदिन्छु भन्दै पुतलीसडकका कमल भन्ने एक दलालले रु.३ लाख मागे। युवतीले आफूसँग पैसा नभएको बताएपछि उनी अढाई लाख, दुई लाख, एक लाख, ७० हजारमा झर्दै अन्त्यमा निःशुल्क बिहे गराइदिन तयार भए। तर केटीका बाबुआमाले कोरियाली ज्वाइँ नस्वीकारेपछि मङ्सिरको अन्तिम साता घटना प्रहरीसम्म पुग्यो।

डीएसपी शरदकुमार खत्रीका अनुसार दुवै महाराजगञ्ज प्रहरी प्रभागमा एक रात थुनिएपछि युवतीलाई आफन्तले र कोरियालीलाई दलालले जिम्मा लिएर गए।

दावा, शान्ति र राई जस्ता धेरै युवतीलाई नेपालबाट कोरियाली युवासँग बिहे गराई त्यहाँ मानसिक अवस्था ठीक नभएका, गरिब, अपाङ्ग र वृद्धहरूलाई हस्तान्तरण गरिएका छन्। हाल नेपाल आएकी मञ्जु थापा भन्छिन्, “कोरियामा पुर्‍याएपछि म तेरो श्रीमान् होइन, तेरो श्रीमान् ऊ हो भनेर अर्कैको जिम्मा लगाइँदोरहेछ। कोरियाली नागरिक हुन पाइने लोभमा रु.१२ लाखसम्म खर्च गरेर गएकाहरू बूढा र अशक्त व्यक्तिहरूको हातमा पुगेका छन्।”

कसरी हुन्छ बिहे र व्यापार

नेपाली युवतीलाईतीन किसिमले कोरिया पुर्‍याउने गरिएको छ। पहिलोर सबैभन्दा बढी प्रचलित तरिकाअनुसार कोरियाली युवाहरू नेपाल आई विवाह गरेर कोरिया लैजान्छन्र चार हजार अमेरिकी डलरसम्ममा बेच्छन्। दोस्रोमा अशक्त, वृद्ध र कोरियामा केटी पाउन नसकेकाहरू नेपालमै आएर कम उमेरका युवती विवाह गरेर लैजान्छन्। तेस्रोमा चाहिँ पैसा तिरेर काम गर्न जान चाहने युवतीहरू स्वयं कोरिया छिर्न त्यहाँका युवासँग विवाह गरेर जान्छन् र छुट्टिएर बस्छन्। रु.१२ लाखसम्म तिरेर यस्तो व्यावसायिक विवाह गर्ने युवतीको कोरिया गएपछि केटाले ६-६ महिनामा भीसा नवीकरण गरिदिनुपर्छ। यसरी जानेलाई दुई वर्षमा स्थायी बसोबासको प्रमाणपत्र पाएपछि सम्बन्धबिच्छेद गरेर स्वतन्त्र हुन पाउने भनिएको हुन्छ, तर कतिपय केटाले ब्ल्याकमेल गर्दैै थप पैसा असुल्न सम्बन्धविच्छेद नगरिदिएकाले युवतीहरूले भाग्नु र गैरकानूनी हैसियतमा लुकेर काम गर्नुपरेको छ।

पहिले व्यक्तिगत सम्पर्कबाट हुने बिहे अहिले केही म्यारिजव्यूरोले गराउन थालेका छन्। उनीहरू पत्रपत्रिकामा विज्ञापन गरेरै निःशुल्क विवाह गरी कोरिया जान पाइने आकर्षण देखाएर नेपाली केटी खोज्छन् (हेर्नास्, विज्ञापनहरू अर्काे पेजमा)र सम्पर्क गर्न आउनेहरूलाई फर्म भराएर राख्छन्। बिहे गर्न आउने कोरियालीहरू प्रायः हप्तामा दुई दिनसोमबार र बिहिबार कोरियाली एयरबाट नेपाल आउँछन्र एक-दुई दिनमै नेपालस्थित दक्षिण कोरियाली दूतावासबाट बिहेका लागि नो अब्जेक्सन लेटर लिन्छन्। युवतीलाई ठमेलतिरका कुनै रेष्टुरेण्ट, म्यारिजव्यूरो वा घर लिएर बसेका कोरियालीका कोठामा देखाइन्छर भोलिपल्टै क्याटरिङ, मन्दिर वा चर्चमा लगेर बिहे गरिन्छ।केटा विवाह दर्ताको प्रमाणपत्र बोकेर कोरिया फर्कन्छ र उसले उताबाट पठाएको कागजपत्रको आधारमा एक-डेढ महिनाभित्र केटीलाई कोरिया उडाइन्छ। र, त्यहाँ पैसा लिएर अर्काे पुरुषको जिम्मा लगाइन्छ।

बिहेको नाममा यसरी कोरिया लगिने नेपाली मात्रै छैनन्। फिलिपिन्स, भियतनाम, थाइल्याण्ड र इन्डोनेसियाका युवतीलाई लैजाने चलन धेरै पहिलेदेखि छ। आर्थिक अवस्था कमजोर भएका कृषक, मजदुर, अशक्त, अपाङ्ग र वृद्धले सस्तोमा किन्न पाउने हुनाले बिहेका लागि विशेष गरी नेपाललगायत गरिब मुलुकका महिलाहरू रोजिएका कोरियाको सनमून विश्वविद्यालयबाट विद्यावारिधि गरेका काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. जनार्दन लामिछाने बताउँछन्।उनी भन्छन्, “यस्तो काममा व्यक्तिहरू मात्र हैन, विभिन्न सामाजिक र धार्मिक संस्था समेत लागेका छन्।”

पीडादायी आकर्षण


श्रीमान्को सहमतिमै दलाललाई रकम तिरेर कोरियाली नागरिकसँग बिहे गरी कोरिया पुगेका काठमाडौं सामाखुशीका दुई महिला।

कोरियालीसँग बिहे गर्न नेपाली महिला आकर्षित हुनुको कारण दलालले गर्ने बढाइचढाइँ हो। त्यहाँ गएर दुई वर्ष जसोतसो बिताए कोरियाली नागरिक हुन, आफ्नो परिवार लैजान र मनग्गे पैसा कमाउन पाइने आशमा नेपाली युवतीहरू यस्तो बिहे गर्न राजी हुन्छन्। थापा भन्छिन्, “यसरी पुग्नेमा आफ्नै श्रीमान्ले लाखौं रुपैयाँ खर्चेर पठाएका दुई-तीन छोराछोरीका आमा र ४५ वर्षसम्मका महिला समेत छन्।”
बिहे गर्न नेपाल आउने कोरियाली पुरुष ३० देखि ६० वर्षका र धेरैजसो ३५ वर्ष हाराहारीका हुने पिसफूल इन्टरनेशनल म्यारिजव्यूरोका सञ्चालक हरि क्षेत्री बताउँछन्। उनीहरूसँग कुराकानी गराउने दोभाषेको काम व्यूरो सञ्चालकहरूले नै गर्छन्। हेराहेरकै बेला बिहे गर्ने, नगर्ने टुङ्गो दिनुपर्छ। न त केटाको कुनै कागजपत्र हेर्न पाइन्छ न चालचलन बुझ्न नै। व्यूरो सञ्चालकले उल्था गरिदिएको कुराबाट युवतीले निर्णय लिनुपर्छ।

कोरियालीसँग बिहे गर्ने नेपाली महिलाले धेरै खर्च गरेका भएपनि व्यूरो सञ्चालकहरू भने आफूले नेपालीसँग खासै पैसा नलिएको दाबी गर्छन्। निःशुल्क बिहे गरिदिने विज्ञापन छापेको काठमाडौं, सामाखुशीस्थित खुशी म्यारिज व्युरोकी एक कर्मचारी सबै खर्च कोरियालीले नै गर्ने बताउँछिन्। तर कल्चर म्यारिज व्यूरोका सञ्चालक अभिषेक विमली भने नेपालीबाट रु.१५ हजार लिने गरेको र कोरियालीले खासै दिने नगरेको बताउँछन्। पिसफूलका सञ्चालक क्षेत्री चाहिँ कोरियालीबाट ५०० अमेरिकी डलर (झण्डै रु.४० हजार) र नेपालीले दयाधर्म गरेर दिए रु.२५ हजार लिने गरेको बताउँछन्। बिहे गर्न बुझ्न जाने महिलाहरूलाई चाहिँ व्यूरो सञ्चालकहरू कोरियालीले रु.५-६ लाख खर्च गर्ने गरेको बताउँछन्। हाम्रा दुई महिला समाचारदाताविवाह गर्ने बहानामा २० पुसमा खुशी र कल्चर म्यारिज व्युरोमा पुग्दा त्यस्तो स्वीकारोक्ति आएको हो।

व्यूरो सञ्चालकले नेपालीको पैसा नलाग्ने बताए पनि अवस्था त्यस्तो छैन। अघिल्लो महिना एउटा कार्यक्रममा सहभागी हुन कोरिया गएर फर्केकी संविधानसभा, मौलिक अधिकार समितिकी सभापति बिन्दा पाण्डे आफूले त्यस्ता तीन महिला भेटेको बताउँछिन्। उनी भन्छिन्, “चार कक्षा पढेकी नुवाकोटकी एउटी महिलाले रु.१० लाख तिरेर कोरियालीसँग बिहे गरेको बताइन्, संखुवासभा र खोटाङतिरका अरू दुईजनाको कुरा पनि उस्तै थियो।” मन्जु थापाका अनुसार, कोरियामा कुनै विदेशी महिला बिहे गरेर लैजाँदा कतिमा किनेको भनेर सोध्ने गरिन्छ।

आफ्नो ठेगाना नबताउने गङ्गा अहिले कोरियामा लुकेर बसेकी छन्। उनी नेपालबाट बिहे गरी लगेका कोरियालीले सुम्पिएका व्यक्तिले रातदिन पिटेपछि भागेकी थिइन्। एउटा रेस्टुरेण्टमा काम गरेकी उनको भीसाको म्याद सकिएको छ र कोरिया पुर्‍याउने दलाल चाहिँ अहिले अर्कै व्यक्तिसँग बिहे गर्न दबाब दिइरहेका छन्।कोरियामा रहेका बमबहादुर लावती भन्छन्,“छङ सङ नाम्दोमा बसेका २२ जना यस्ता पीडितमध्ये दुई जना भागेर केही दिनअघि मात्रै राजधानी सोल आएका छन्।”


रु.१२ लाख खर्च गरेर आएका नेपाली महिलालाई कोरिया ल्याएपछि म तेरो श्रीमान् होइन, तेरो श्रीमान् त ऊ हो भनेर बूढा र अशक्त व्यक्तिको जिम्मा लगाउने गरिन्छ।
मञ्जु थापा,
कोरियामा अध्ययनरत् विद्यार्थी
बिहे गरेर लगिएका नेपाली महिलाहरूलाई प्रायः कोरियाका ग्रामीण क्षेत्रमा पुर्‍याइन्छ। किम्जे, बुसान, पुसान, थेगु, छङ सङ, नाम्दोलगायतका ठाउँमा प्रायः पश्चिम नेपालका गुरुङ थरका महिलाहरू भएको जानकारी दिँदै कोरियास्थित नेपाली अपाङ्ग महासंघका अध्यक्ष कुशराज राई उनीहरूको अवस्था साह्रै दयनीय भएको बताउँछन्। कोरियाली भाषा नबुझ्ने नेपाली महिला त्यहाँ पुगेपछि बन्दी जस्तै हुन्छन्। शारीरिक हाउभाउले कुरा बुझ्ने-बुझाउने गरिन्छ। कोरिया पुर्‍याएपछि जसलाई बेचिएको हो उसको श्रीमती हुन नमान्नेलाई शारीरिक यातना दिइन्छ। मन्जु थापा चुरोटको ठूटोले जीउभरि पोलिएकी एक महिलालाई भेटेको बताउँछिन्। तर कल्चर म्यारिज व्यूरोका विमली आफूले तीन महिनामा बिहे गराएको २२ जनामा कसैको गुनासो नआएको दाबी गर्छन्। उनी भन्छन्, “बाहिर बाहिरैबाट पठाएकाहरूको बिजोग भएको होला, हामीले पठाएकालाई समस्या छैन।”

कोरियालीसँग बिहेका नाममा भइरहेको खेलबाट सरकार भने पूरै बेखबर देखिन्छ। महाराजगञ्ज प्रहरीमा पुगेको खोटाङकी युवतीको मुद्दालाई प्रहरीले लगभग बिर्सिदिएको छ। राज्यको उदासीनता नेपाली दूतावासमा पनि छ। कोरियास्थित नेपाली अपाङ्ग महासंघका अध्यक्ष राई दूतावासले समस्याप्रति आँखा चिम्लिएको आरोप लगाउँछन्। कोरियाका लागि नेपाली राजदूत कमल कोइराला भने यो कुरा मान्न तयार छैनन्। तीन सय जति नेपाली महिलाले कोरियालीहरूसँग विवाह गरेको जानकारी दिँदै उनी विवाह गरेर गएपछि ती युवती कोरियाली नागरिक हुने र तिनको समस्या सुल्झाउने काम पनि कोरियाकै सरकारको हुने बताउँछन्। उनले बताएअनुसार, केही समयअघि त्यहाँको प्रशासनले कोरियाको नागरिकता लिएका दुई नेपालीलाई विवाह गराएर युवती बेच्ने धन्दामा लागेको आरोपमा पक्राउ गरेको थियो, जसमध्ये एक सजाय काटेर छुटिसकेका छन् भने अर्का अझै जेलमै छन्।

हालै काठमाडौँ आएकी कोरियाली सामाजिक अधिकारकर्मी सेसेलिया ली भन्छिन्, “नेपालमा यो समस्या भर्खरै शुरु भएजस्तो छ। बेलैमा ध्यान नदिने हो भने नेपाली महिलाको अवस्था पनि फिलिपिन्स, भियतनाम र इन्डोनेसियाका महिलाको जस्तै हुनेछ, जहाँ यो समस्याले ठूलै सामाजिक कुरीति निम्त्याएको छ।”


--------------------------------------------------------------------------------

दैनिक १ नेपाली कोरियन बन्दैछ

४ कक्षा पढेकी नुवाकोटकी एउटी महिलाले रु.१० लाख तिरेर कोरियालीसँग बिहे गरेकी र संखुवासभा र खोटाङका अरु दुईजनाको कुरा पनि उस्तै थियो।
बिन्दा पाण्डे
सभापति, संविधानसभा, मौलिक अधिकार समिति खरिद-बिक्री
कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा दर्ता भएका ३८ वटा म्यारिज व्यूरोमध्ये ३२ वटा काठमाडौं उपत्यकाका, चार पोखराका र बाँकी चितवन र नेपालगञ्जका छन्। २०६५ कात्तिकपछि मात्रै नौ वटा म्यारिज व्यूरो दर्ता भएका छन्। नेपालमा व्यूरोबाट विवाह गराउने चलन फस्टाइनसकेकोले यी व्यूरो राम्रो आम्दानी हुने विदेशीसँगको विवाहमै बढी लागेका छन्।

कोरियामा नेपाली युवती बिहे गरेर पठाउने म्यारिज व्यूरोहरू पर्दा पछाडिबाट कोरियालीले या पाँच-सात वर्ष कोरिया बसेर फर्केका नेपालीहरूले चलाएका छन्। खुशी, कल्चरलगायतका म्यारिज व्यूरोका कर्मचारी आफ्नो मुख्य सञ्चालक कोरियाली भएको बताउँछन्। पिसफूलका सञ्चालक हरि क्षेत्री ११ वर्ष र कल्चरका सञ्चालक अभिषेक विमली ५-६ वर्ष कोरिया बसेर फर्केका हुन्। काठमाडौंमा घरभाडामा लिएर बस्ने केही कोरियाली नागरिक पनि उताबाट केटा ल्याएर स्वतन्त्र रूपमा बिहे गराउने काम गर्दै आएका छन्। काठमाडौंको महाराजगञ्ज चप्पल कारखानामा बस्ने किम होंग अप लगायत केही कोरियाली पाँच वर्षदेखि यो धन्दामा सक्रिय छन्। कोरियामै बस्ने केही नेपालीहरू पनि यो व्यवसायमा लागेका छन्।

काठमाडौंस्थित कोरियाली दूतावासका कन्सुलर अधिकारी कि क्यूङ से'कको भनाइमा महिनामा ३० जना केरियाली नेपाली युवतीलाई विवाह गरेर कोरिया लैजान नो अब्जेक्सन लेटर लिन आउँछन्।तर २०६४ पुसदेखि १० माघ २०६५ सम्मको एक वर्षमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा भने २६ जनाको मात्र बिहे दर्ता भएको छ। पछिल्लो समय कोरियाली र नेपालीको बिहे दर्तामाकडाइ गरिएपछि यो वर्ष त्यस्तो बिहे दर्ता हुन नपाएको तथा आफूले तीन जोडीलाई फर्काएको जिल्ला प्रशासन कार्यालय,ललितपुरका प्रजिअ लक्ष्मीप्रसाद ढकाल बताउँछन्। उनी भन्छन्, “न त नेपालीले कोरियाली भाषा बुझ्ने, न कोरियालीले नेपाली; दुवैले अङ्ग्रेजी समेत नबुझ्ने। एकअर्कालाई आफ्ना कुरा बुझाउन समेतनसक्नेलाई पती-पत्नी भनेर कसरी प्रमाणित गर्ने? यो विवाहभन्दा पनि कागज मात्रै बनाउन खोजेको हो भन्ने लागेपछि फिर्ता गरेको हुँ।”

यसरी कानूनी बाटोबाट काम नबनेपछि म्यारिज व्युरोहरूले नक्कली कागजात बनाएर भएपनि विदेश उडाउने गरेको हिमाल ले गरेको एउटा स्टिङ अप्रेशनबाट पत्ता लागेको छ। त्यसका लागि विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणित कागजात काठमाडौंमै रु.५ हजारमा बनाउन सकिन्छ, जसको रेकर्ड हिमाल सँग सुरक्षित छ। यस्ता कागजात तयार पारेर अन्य देशमा जानेहरू पनि छन्। काठमाडौंका सहायक प्रजिअ सीताराम पोखरेलका भनाइमाकेही दिनअघि नेपालस्थित अष्ट्रेलियाली दूतावासमा प्रस्तुत एउटा बिहे दर्ताको प्रमाणपत्र नक्कली फेला परेको थियो। उनी भन्छन्, “दूतावासले सोधेको प्रमाणपत्रमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अधिकृत शेखर अधिकारीको दस्तखत थियो, जबकि उहाँ प्रमाणपत्र जारी भएको मितिमा त्यो शाखामै हुनुहुन्नथ्यो।”

Source :http://www.himalkhabar.com

No comments:

Blog Archive

Followers