Tuesday, January 13, 2009

अरनिको, कलाकार, मूर्तिकार र वैज्ञानिक

युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार वैज्ञानिक पनि थिए । वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए । उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रंगिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ । उनले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रीतधात बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ । ज्योतिष विज्ञान पनि निपुण अरनिकोले सन् १२१९ मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिषगणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए । यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए । त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए । उनको जन्म संभवतः पाटनमा सन् १२०० सयको तेस्रो या चौथो दशकतिर भएको अनुमान छ । उनको मृत्यु सन् १३०६ मा पहिलो महिनामा पेकिङमा भएको थियो ।
Souece:http://hamrosamachar.com

No comments:

Blog Archive

Followers