Tuesday, December 16, 2008

विद्रोही लप्काहरुको बकपत्र


कुमारी लामा,काठमाण्डौ"
मेरो र कविताको नाता न व्यङ्ग्य न वाङ्मयहुन सक्ला बाध्यतारहर होइन"भन्दै कवि ध्रुवसत्य सुरुवात गर्छन् ३१ वटा कविता अटाएको उनको कविता संग्रह " बकपत्र " बाट । यी पक्तिहरुको मर्मलाई बुझ्ने हो भने सिर्जनाको सिङ्गै कथा लेखिएको पाउँछौ । सिर्जना पक्कै पनि रहर होइन बाध्यता हो ध्रुवसत्यले स्वीकारेको सत्य जस्तै । यस संग्रहभित्र संग्रहित उनका कविताहरु बाध्यताका पोखाइहरु हुन् । उनले समाजमा भइरहेको अन्याय, अत्याचार, जातीय भेद, असमानता, क्रान्ति अनि मनभरि उम्लिरहेको विद्रोहका ज्वालाहरुलाई बाहिर नल्याइ रहनै सकेनन् । अनि त्यही बाध्यताले उनलाई घचघच्यायो ३१ वटा उत्कृष्ट कविताहरुलाई एकमष्ठ बाहिर ल्याउन । उनका कविताहरुमा समाजले तोकिदिएको तल्लो जातको दर्जाले दिएको पीडा र यो असमानताको अन्त्यको लागि विद्रोह छ । उनका कविताहरुमा मानवशुलव इच्छा, चाहना, प्रेम, घृणा र आशाहरुको संगालो साथै अहिलेको विषम परिस्थितिले उब्जाएको निसास्सिंदो गाह्रो साह्रो परिस्थितिको यथार्थ चित्रण पनि छ । " मेरो जात" शीर्षक कविताले सभ्य भनाउँदा मानिसहरु आफैले सिर्जना गरेका जातीय भेदले दिएको असीम पीडालाई छर्लङग्याउँछ-"मेरो जातमैले पहिरिएको पहिरन भइदिएखोलेर कालीमा बगाइदिन्थे"मुटुमा चसक्क घोच्ने यी भावनाहरु त्यसै पलाएका होइनन् कवि ध्रुवसत्यभित्र । उनले आफ्नो जातलाई लुगा भइदिएको भए फुकालेर फाल्न चाहेको कुराले नै प्रस्ट हुन्छ उनलाई तल्लो जात हुनु र समाजले गरेको विभेदले कति घोचेको रहेछ । जात भनेको आफ्नो पहिचान हो । जो कोही पनि आफ्नो अस्तित्व र पहिचान खोज्दै गरेको आजको संसारमा कवि आफ्नो अस्तित्वलाई नै मेटाउन चाहन्छन् । यो उनको रहर हैन बाध्यता हो । तथाकथित जात र धर्मको विभेदले उनलाई दिएको दुःख र पीडाको निकास खोजेका हुन् उनले । उनी अदृश्य पर्खालहरु भत्काउन चाहन्छन् रुढीबाद र परम्पराको असमानता र अन्यायको अनि उच र नीचको । उनको " बहुलाएको बुहारी" शीर्षक भएको संवादात्मक कवितामा परम्परागत मान्यता र बर्तमान जागृत सोचाइ वीचको द्वन्द छ । "अगाडि बढ्ने अरे स्वस्थानी पाठ नगरेरत्यो खै के जाति ' शिरिशको फूल' पढ्ने अरे खुरुक्क खर काट्न खरबारी नगएरगोठ छाउन धुरी चढ्ने अरे"
यी हरफहरु मार्फत हामी सजिलै पढ्न सक्छौं कवि ध्रुवसत्यको परिवर्तनशील आजको समयको मागप्रतिको चेतना । यहाँ "बुहारी" एउटी नारी पात्रलाई उभ्याए पनि यो बिम्बले प्रत्येक पिछडिएको जाति, वर्ग, धर्म, संस्कृतिका व्यक्तिलाई प्रतिबिम्बित गर्दछ । अहिलेको अवस्थामा राज्यले, समाजले र शक्तिकेन्द्रले बेवास्ता गरेका, लत्याएका जाती वर्ग लिङ्ग धर्मका सबैजना अलि जागृत भई आफ्नो हक अधिकार र अवसरको लागि अगाडि वढिरहेको अवस्थामा अरु जाति वर्ग र लिङ्गलाई अगाडि वढेको देख्न नसक्ने निरंकुशहरुले उनीहरुलाई बहुलाएको बुहारीको संज्ञा दिनु कुन ठूलो कुरा हो र यो दैनिक घटिरहेको सत्य घटना हो जसलाई कवि ध्रुवसत्यले ज्यादै कुशलतापूर्वक आफ्नो कवितामा पोखेका छन् । उनी मानवताको सन्देश दिन चाहन्छन् यो निसास्सिंदो परिस्थितिबाट गुज्रिरहेका प्रत्येक दुःखी हृदयलाई । उनले प्रेमलाई नै त्यो कसिको रुपमा पाउँछन् जसले हारलाई पनि जित बनाइदिन्छ । प्रेमले हामी मानिसलाई मानिस हुनुको अर्थ बुझाई दिन्छ अनि स्वतन्त्रताको बाटोमा डो-याइदिन्छ । उनका कविताहरुमा आशा पनि छ निराशा पनि । यो विषम परिस्थितिको चित्रण गर्दै जीवन चिनी नपुगेको फिका चिया जस्तै नमीठो हुँदै गएको अवगत गराउँछन् । हामी प्रायः जसोले भोगेको अभावग्रस्त र महङ्गीको मारले थिचिएको निराशाजनक जीवनको दुरुस्तै चित्रण गर्छन् यी हरफहरुमा -"एउटा भाडाको कोठामामेरा भावना भड्किरहेछन्मेरो आदर्श अलापिरहेछन्फिका चियाको चुस्किसँगैचिनीको मूल्य वृद्धिसँगै"उनीभित्र पलाइरहेका आशाका मुनाहरुलाई पनि सहजै महसुस गर्न सकिन्छ उनको कविता "भाग्य" मार्फत । यस कवितामा उनी ज्योतिष बाले भविष्यवाणी गरेको भन्दा फरक बनाउन चाहन्छन् आफ्नो भाग्य । ज्योतिषीले भनेजस्तो उनको छोरा विदेश दुःख गर्न र छोरी बम्बैको कोठीमा बेचिन होइन उच्च शिक्षा हासिल गर्न जानॆछन् भन्ने उनको भनाइले उनीभित्र उभिएको दृढताको स्तम्भ र सुखद भविष्यको आशाका लहरहरुलाई देख्न सक्छौँ । "बक पत्र" कविता संग्रह कवि ध्रुवसत्यको भोगाइ खुसी पीडा विद्रोहरुपि अक्षरहरुले लेखिएका पत्रहरु हुन् । यी पत्रहरु मानवीय आशा, निराशा, भावना, प्रेम र असन्तुष्टि भन्दा पर पटक्कै छैनन् । अझ यी पत्रहरुमा कोमल हृदयको कोमल स्पन्दन भन्दा पनि भेदभावले प्वालै प्वाल बनाइदिएको मुटुबाट परिवर्तन र क्रान्तिका लागि निस्किएका विद्रोही लप्काहरु बेसी छन् ।

No comments:

Followers