Saturday, February 7, 2009

ह्याप्पी बर्थ डे फेसबुक

काठमाडौं, माघ २३ - बुधबार तपाईंले कसैलाई जन्मदिनको शुभकामना दिन भुल्नुभयो ? भुल्नुभयो भने पनि आश्चर्य मानिहाल्नु पर्दैन । किनभने तपाईंजस्तै फेसबुकका अधिकांश प्रयोगकर्ताले यसको पाँचौं जन्म दिन भुसुक्कै भुले । इन्टरनेटबाट साथी बनाउने, पुराना साथीभाइसँगको सम्पर्क अद्यावधिक गर्ने र छुट्टिएकासँग भेट्ने थलोका रूपमा लोकप्रिय फेसबुक पाँच वर्षअघि हावर्डमा पढ्ने साथीभाइसँग साइनो राखिराख्न मार्क जुकरबर्गले खोलेका थिए । तर उक्त सामाजिक सञ्जालमा अहिले विश्वभरिका १५ करोड सदस्य भइसकेका छन् ।



बीबीसीकी प्रविधि संवाददाता म्यागी सिल्स अनलाइन मित्रताका लागि यो विश्व नेता भएको बताएकी छन् । २४ वर्षीय संस्थापक जुकरबर्गले फेसबुकमै पोस्ट गरेको सन्देशमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको बानी फेरिँदै गएको बताउँदै आफ्नो परिचय लुकाउन चाहने मान्छेसमेत फेसबुकमा खुल्ने गरेको बताएका छन् । त्यसो त फेसबुकमाथि मित्रता बेच्न खोजेको आरोप नलागेको होइन । हुन पनि फेसबुक पेजमा सदस्यले दिने विवरणमा आधारित विज्ञापनको ओइरो नै लाग्छ । कतिपयले यसलाई इन्टरनेटमा लत बसाउने अर्को माध्यमका रूपमा पनि लिन्छन् ।



तर यसले निजी सूचना गोप्य राख्न चाहने प्रयोगकर्तालाई पनि उनीहरूको निजत्वको रक्षा गर्दै च्याट, फोटो अपलोड, ब्लगजस्ता सुविधा दिएकाले लोकप्रिय भएको हो । कुल प्रयोगकर्तामध्ये १ करोड ५० लाखले दैनिक आफ्नो अवस्था जानकारी (स्टाट्स अपडेट) गर्छन् । तपाईंले गर्नुभएको छैन भने अहिल्यै भनिहाल्नोस्- ह्यापी बर्थ डे फेसबुक ।
http://www.kantipuronline.com/nepali

No comments:

Followers